प्रहरी संगठनमा कुनै पनि सदस्य नराम्रो रुपमा लाञ्छित हुन नपरोस्ःखनाल
८ कार्तिक ।
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले नागरिक सेवा गर्न पाएको सुनौलो मौका र वर्तमान चुनौतिलाई आत्मसात् गर्दै उपलब्ध साधन स्रोतलाई अधिकतम उपयोगकासाथ संगठनको मर्यादा कायम राखी काम गर्नुपर्ने बताएका छन् ।
प्रहरी महानिरीक्षक खनालले हालै प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भई पदस्थापना भएका र सरुवा भई कार्यक्षेत्र जान लागेका प्रहरी नायब महानिरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार निर्देशन दिँदै सो कुरा बताएका हुन् ।
हरेक व्यक्तिको काम गर्ने शैली र प्रकृति फरक भएपनि संगठनको मूलभूत उद्देश्य र चाहना अनुरुप कार्य गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले संगठनमा कुनै पनि सदस्य नराम्रो रुपमा लाञ्छित हुन नपरोस् भन्ने संगठनको चाहना रहेको बताए । वरिष्ठ प्रहरी अधिकृतहरुले आफू मात्र होइन मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई अझै राम्रा बनाउन खरो रुपमा उत्रन उनले निर्देशन दिए ।
संगठन सबैको हो र यसलाई अझै राम्रो बनाउन आफ्नो भूमिका कसरी निर्वाह गर्ने भन्ने विचार हरेक कर्मचारीले गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आफूलाई राम्रो लागेको काम र जिम्मेवारी पुरा गर्न स्पष्टरुपमा तुरुन्तै सुरुवात गर्नुपर्नेमा जोड दिए । प्रहरीले हरेक जिम्मेवारी पुरा गर्दा केन्द्रीय, प्रदेश एवं स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
आवश्यक साधन स्रोत एवं भौतिक संरचनाको समस्यालाई प्राथमिकतामा राखेर उदाहरणीय रुपमा निर्माणमा जुटेर त्यसको समाधान गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले आवश्यक संरचना छिटो निर्माण गर्ने र सौहार्द रुपमा काम गर्ने वातावरण बनाउन निर्देशन दिए । प्रहरी संगठन अझै उत्कृष्ट भएको हेर्ने आफ्नो चाहना रहेकोले सोही अनुरुप काम गर्न सामुहिकरुपमा जुट्नुपर्ने उनले उल्लेख गरे ।
आगामी आइतबारदेखि लागू गर्न लागिएको सामुदाय–प्रहरी साझेदारी कार्यक्रमतर्फ लक्षित गर्दै प्रहरी महानिरीक्षक खनालले त्यसलाई सफल बनाउन सम्पूर्ण प्रहरी कर्मचारीहरुले खटिएको स्थानमा तुरुन्तै आपसी समन्वय र सक्रियता बढाउनुपर्ने बताए । अपराध अनुसन्धान र अवाञ्छित गतिविधि नियन्त्रण लगायतका काममा कुनै सम्झौता नगरी साहसका साथ निर्धक्क भएर काम गर्न समेत उहाँले निर्देशन दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० पुष्कर कार्कीले संगठन प्रमुखबाट विशेष रुपमा प्राथमिकता राखिएका कामलाई तत्काल पुरा गर्न कार्यक्षेत्रमा खटिन लागेकोमा वरिष्ठ प्रहरी अधिकृतहरु नचुक्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राई र धिरु बस्न्यात, प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: