बक्यौता चुक्ता नगरी एयर एसियाले नेपाल छाड्यो
८ कार्तिक ।
काठमाडौं । अन्ततः मलेसियाको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले १३ करोड रुपैयाँ बक्यौता चुक्ता नगरी नेपाल छाडेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक महिनाअघि एयर एसिया एक्सलाई एक साताभित्र कूल बक्यौताको कम्तिमा १० करोड रुपैयाँ चुक्ता नगरे नेपाल आउने उसको जहाज काठमाडौंमै ‘ग्राउन्डेड’ गर्ने चेतावनी दिएको थियो । उक्त चेतावनीपछि उसले ७ करोड १४ लाख रुपैयाँ चुक्ता गरे पनि बाँकी १३ करोड नतिरी गत असोज २७ बाट नेपाल उडान बन्द गरेको हो ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार काठमाडौंस्थित मलेसियाली दूतावासले एयर एसियाको बक्यौता उठाउन आफूले मध्यस्थता गर्ने भन्दै पत्राचार गरेपछि नेपाल छोड्न अनुमति दिइएको हो ।
“नेपाल छाड्नु एक दिनअघि नै हामीले एयर एसिया एक्सको जहाजलाई डेढ घन्टासम्म यहीँ रोकेर राखेका थियौं,” महाप्रबन्धक क्षेत्रीले भने, ‘यो कुरो मलेसियास्थित उसको मुख्यालय हुँदै यहाँको दूतावाससम्म आइपुग्यो र दूतावासले पत्र पठाएपछि फिर्ता जान अनुमति दियौं ।’
विमानस्थलका अनुसार एयर एसियाले करिब ४४ करोड रुपैयाँबराबरको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको थियो । उसले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत दुई वर्षभन्दा बढी समयदेखि ठूलो परिमाणमा चुक्ता गर्न बाँकी छ ।
बक्यौतासम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले २०७४ मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी यहाँ उडान गरिरहेका सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए ।
त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसियाको मुख्यालय मलेसिया पठाएको थियो । उसको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) इन्सेन्टिभ्स टुर्सलाई त्यसअघि पठाइएको पत्रको जवाफ नआएपछि विमानस्थलले मलेसिया पत्र पठाएको थियो । जति ताकेता गर्दा पनि अटेर गरेको एयर एसियाले गत वर्ष फागुनदेखि उडान बन्द गर्ने दुई महिनाअघि गरी किस्ता–किस्तामा करिब २३ करोड रुपैयाँ चुक्ता गरेको थियो ।
‘अब एयर एसियाले विलम्ब शुल्कवापत १३ करोड रुपैयाँ चुक्ता गर्न बाँकी छ,’ विमानस्थलका महाप्रबन्धक क्षेत्रीले भने, ‘मलेसियाली दूतावासले बक्यौता उठाउन मध्यस्थता गर्ने पत्र पठाएकाले पैसा उठ्नेमा हामी ढुक्क छौं । अब मलेसियाली दूतावासमा पहल गर्छौं ।’
लामो समयदेखि ठूलो परिमाणबराबरको बक्यौता चुक्ता गर्न बारम्बार ताकेता गर्दै आएको त्रिभुवन विमानस्थल व्यवस्थापनले केही सीप नलागेपछि उसका जहाज नै ग्राउन्डेड (भूमिस्थ) गर्ने चेतावनी दिएको थियो ।
एयर एसियाले गत भदौ तेस्रो साता सार्वजनिक सूचना जारी गरी असोज २७ गतेबाट नेपाल उडान बन्द गर्ने घोषणा गरेको थियो । तर, त्यसअघि त्रिभुवन विमानस्थललाई सम्पूर्ण बक्यौता चुक्ता गर्ने जानकारी दिए पनि अन्तिममा ‘धोका’ दिएको थियो ।
क्षेत्रीका अनुसार बक्यौता चुक्ता गर्ने अवधि केही दिन बढाइदिन भन्दै मलेसियास्थित एयर एसियाको मुख्यालय र काठमाडौंस्थित कार्यालयका अधिकारीहरूले आग्रह गरेका थिए । त्यसपछि एक साताभित्र न्यूनतम १० करोड रुपैयाँ चुक्ता गर्नैपर्ने र नगरे जहाज ग्राउन्डेड गर्ने चेतावनी दिइएको थियो ।
आगामी असोज २७ बाट लागु हुने गरी नेपाल उडान बन्द गर्ने औपचारिक पत्र एयर एसियाबाट प्राप्त भएपछि विमानस्थल कार्यालयले ऊसँग उठाउनुपर्ने सबै रकमको हिसाबकिताब निकालेको थियो ।
३ सयभन्दा बढी सिट क्षमतायुक्त ‘ए३३०’ सिरिजको ‘वाइड बडी’ जहाजबाट नेपाल उडान गर्दै आएको एयर एसिया एक्सले गएको ६ महिनादेखि यो सेक्टरमा चरम घाटा खाँदै आएको भन्दै उडानै बन्द गर्ने निर्णय गरेको थियो । नेपालले वैदेशिक रोजगारीको रामो गन्तव्य मलेसिया तत्कालका लागि बन्द गरेयता एयर एसिया यो सेक्टरमा घाटामा सञ्चालन हुँदै आएको उसको भनाइ थियो ।
एयर एसियाका अनुसार मलेसियाको क्वालालम्पुरबाट आउँदा ३ सय यात्रु हुने तर काठमाडौंबाट फर्किंदा ४० हाराहारी यात्रु हुन थालेपछि खालि जहाज उडाउनुभन्दा यो सेक्टर नै बन्द गर्ने निर्णय गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: