नेकपाका अध्यक्ष दाहालद्वारा गलेश्वर शिवालय अवलोकन
२७ कार्तिक । म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गरेका छन् ।
सो क्रममा नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गरेका छन् । नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित रहेको गलेश्वर मन्दिरसँगै ढुङ्गामाथि कहिल्यै नसुक्ने जलकुण्ड, चट्टानमाथि पलाएका शिलालगायतको समेत अवलोकन गराइएको थियो ।
धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा रहेको गलेश्वरको महत्वबारे गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र मन्दिरका पण्डित भीमनाथ पराजुलीले बताए । मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरको ऐतिहासिक महत्व र यहाँको समस्याबारे जानकारी लिन अवलोकन भ्रमण गरिएको अध्यक्ष दाहालका निजी सचिव जोगबहादुर महराले जानकारी दिए।
अध्यक्ष दाहाल र गृहमन्त्री थापाले आज बिहान म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना, बेनी–जोमसोम–कोरला सडक, बेनी बजारमा कालीगण्डकी नदीले गरेको कटानलगायतको स्थलगत अवलोकन गरेका छन् ।
बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित दाहालपत्नी सीताको उपचारको सिलसिलामा सोमबार म्याग्दी आएका अध्यक्ष दाहालसहित गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकलासहितको टोलीले आज दुई पटक तातोपानीमा डुबेर स्नान गर्ने छन्
प्रतिक्रिया दिनुहोस्: