Bagmati Samachar Logo

कोरम नपुगेपछि अर्थ र कृषि समितिको संयुक्त बैठक स्थगित

२५ मंंसिर । काठमाडौं । सिंहदरबारमा मंगलबार बिहान बोलाइएको संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

अर्थ समितिका अधिकांश सांसदहरुको अनुपस्थित भएपछि बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । साढे १२ बजेसम्म पर्खदा पनि कोरम नपुगेपछि बैठक बस्न नसकेको हो । सांसदहरुको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । संयुक्त बैठकका लागि मस्र्याङदी–२ जलविद्युत आयोजनाको लाईसेन्स खरिद बिक्रीबारे विस्तृत छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।

भारतीय कम्पनी जिएमआरले सो जलविद्युत आयोजनाको लाईसेन्स विक्री गरेपछि तत्सम्बन्धमा अध्ययन गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको थियो । लाईसेन्स लिने तर आयोजनाको काम अघि नबढाउने कम्पनीलाई कार्वाहीको दायरामा ल्याउने विषयमा छलफल गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको दाहालले बताए ।

अर्थ समितिले सो सम्बन्धमा छानवबिन गर्न उपसमिति गठन गर्ने योजना पनि बनाएको छ । संयुक्त बैठक बस्ने अवस्था नभए उपसमिति बनाएर भएपनि सो लाईसेन्स खरिद सम्बन्धमा आवश्यक छानवीनको कामलाई अघि बढाउने योजना रहेको दाहालले बताए ।