संसद बैठकमा काँग्रेस सांसदको नाराबाजी, रोस्टम घेराउ
२२ पुस । काठमाडौँ । प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने भन्दै नेपाली काँग्रेसका सांसदहरुले संघीय संसदको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीको सम्बोधन लगत्तै सभामुखले कार्यसुचीमा रहेका कार्यक्रम अघि बढाउन खोजेपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए ।
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेलगत्तै काँग्रेस सांसदहरुले प्रश्नोत्तर गर्न पाउनु पर्छ भन्दै आपत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले सिमित सांसदलाई प्रश्नोत्तरको समय दिएका थिए ।
तर, काँग्रेस सांसदहरुले उक्त प्रस्ताव अस्वीकार गरेपछि सभामुख कृष्णबहादुर महराले शुन्य र विशेष समय रद्द गर्ने निर्णय गरेका थिए ।
कांग्रेस सांसदको विरोधका बीच अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले निवृत्तभरण कोष विधेयक सम्बन्धी समितिको प्रतिवेदन र भुक्तानी तथा फस्यौट विधेयक सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस गरेका थिए ।
लगत्तै काँग्रेस सांसदहरु रोष्टम घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।
प्रश्न सोध्न पाउनुपर्ने सम्बन्धमा निकै समय सभामुख र कांग्रेस सांसदहरुबीच भनाभन चलेको थियो । बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्: