प्रजातन्त्र दिवस मनाउन समिति गठन
२८ माघ । काठमाडौं । सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते मनाउने भएको छ ।
प्रजातन्त्र दिवस मूल समारोह समितिको आज सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो ।
त्यसैगरी समारोहलाई सफल बनाउन मुल समिति र विभिन्न उपसमितिहरु पनि गठन गरेका छन् । प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित मूल समारोह समितिमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य रहनु भएको पनि गृह सचिव प्रेमकुमार राईले बताए।
फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् । उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहने हुने सो कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछ ।
यसै अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली गरी मनाउने र विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा प्रजातन्त्र दिवस सम्बन्धि विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरिएको गृह सचिव राईले बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको बताए ।
प्रधानमन्त्री ओलीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढाउन सबैको सचेत अभियानको जरुरी रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्: