विवादास्पद ३ न्यायाधीशको सरुवा
१३ फागुन । काठमाडौं । विशेष अदालतमा कार्यरत तीन न्यायाधीशको सरुवा भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा गरेका छन् ।
न्यायपरिषद्को सहमतिमा प्रधानन्यायाधीश राणाले भ्रष्टाचारको मुद्दा हेर्ने तीन न्यायाधीशलाई सरुवा गरेको न्यायपरिषद्ले जानकारी दिएको छ । ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा गरिएको छ।
उनीहरुले न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेकोजस्ता उजुरी प्रधानन्यायाधीश राणासमक्ष परेपछि उनीहरुको अन्य उच्च अदालतमा सरुवा गरिएको बताइएको छ ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कार्यकालमा उनीहरू विशेष अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।
प्रधानन्यायाधीशको नेतृत्व सम्हालेलगत्तै राणाले आक्रामक रुपमा न्यायालय सुधार गर्ने भन्दै न्यायाधीशहरुको सरुवा र छानबिन गरिरहेका छन् ।
प्रधानन्यायाधीशमा नियुक्त भएको केही दिनमै राणाले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित केही न्यायाधीशको छानबिन गरिरहेका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: