Bagmati Samachar Logo

इश्वर पोखरेलले फेरि गरे नेतृत्वको विरोध

२५ जेठ । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेल पार्टी नेतृत्वको आलोचना गरेका छन् । उनले घुमाउरो पारामा खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोध गदै आइरहेका छन्। अध्यक्ष दाहालले ‘१५ महिनापछि म प्रधानमन्त्री’ भनेपछि पोखरेलले सार्वजनिक कार्यक्रमबाटै प्रचण्डको अभिव्यक्तिको विरोध गरेका थिए ।

पछिल्लो समय उनले नेतृत्व नै इमान्दार हुन नसकेको भन्न थालेका छन् । शनिबार उनले यो भनाइ दोहार्याउँदै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।

प्रा.डा. रामप्रसाद पोखरेल अभिनन्दन ग्रन्थ प्रकाशन समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले नेतृत्वको इमान्दारिता तथा सत्यनिष्ठा गुम्दै गएको बताएका हुन् ।

राजनीनिक दलको नाम उल्लेख नगरिकनै उनले भने, ‘यो प्रवृत्ति समग्र राजनीतिक क्षेत्रमा फैलिएको छ ।’

पार्टी नेतृत्वमा बसेकाहरुले आफूलाई केन्द्रमा राखेर निर्णय गर्ने, योजना बनाउने प्रवृत्तिका कारण उनीहरुको इमान्दारिता, सत्यनिष्ठा र नैतिकता गुम्दै गएको उनको भनाइ छ ।

उनले भने, ‘आफूलाई केन्द्र गरेर सबैथोक गर्ने, नीति निर्माण गर्ने, निर्णयहरु गर्ने । योजनाहरु बनाउने आफूलाई केन्द्रमा राखेर । समाजलाई वा आफूसम्बद्ध समुहको मतलब होइन । आज तपाईंहरुले राजनीतिक क्षेत्रका विभिन्न ठाउँमा हेर्न सक्नुहुन्छ । म यो पार्टी त्यो पार्टी भन्दिनँ । सर्वत्र, जहाँ जहाँ तपाईंहरुले देख्नुहुन्छ । त्यो इन्ट्रीगिटी लुज गर्दै गएको स्थिति छ ।’

कार्यक्रममा प्रा।डा। रामप्रसाद पोखरेलको अभिनन्दन ग्रन्थ आँखाका मणिः र महायोगी अद्धैत पाइलटबाबाको दर्शन र पाइलटबाबा आश्रम कृतिको विमोचन गरिएको थियो ।

नेपालका आँखा चिकित्सा क्षेत्रका नक्षत्र डा. पोखरेलको चिकित्सा क्षेत्रमा अद्धितीय योगदान रहेको छ । नेपाल आँखा अस्पताल र नेपाल नेत्र ज्योति संघको स्थापनामा उनको योगदान महत्वपूर्ण छ ।