प्रिय कमरेड प्रेमसिंह धामी ज्यु कालापानी काठमाण्डौंलाई अझै पनि दुख्दैन
पदम सिंह बडाल
२७ भदौ । काठमाडौं । तत्कालीन नेकपा एमालेका नेता प्रेमसिंह धामीको लेख ‘कालापानी काठमाण्डौलाई किन दुख्दैन ? शिर्षकमा जनआस्था साप्ताहिकमा २०५४ साल भदौ २७ मा छापिएको थियो । यो लेखले त्यतिबेला नेपालमा धेरै चर्चा भएको थियो ।
आज तीनै तत्कालीन नेकपा एमालेका केन्द्रीय नेताको मृत्यु भएको पनि २२ औं बर्ष पुरा भएको छ । तर अहिले पनि काठमाडौं बस्ने शासकलाई कालापानी दुख्दैन । ने
देश दुख्ने र नदुख्ने कुरा लेख मार्फत सार्वजनिक गर्दाको पृष्ठभूमिमा धामीले कति पिडादायी अवस्था खेप्नु परेको होला सहजै अनुमान लगाउन सकिन्छ ।
राज्यसत्ताको एक जनप्रतिनिधि भएको हैसियतमा साँधसिमा मिचिएको र वर्षौदेखि जानाजान गर्तमा राखिएको कुरा हो । यहि कुरा संसद र सडकमा सार्वजनिक गर्दा वा समस्या समाधानका लागि कुटनीतिक प्रयासहरुको मूर्त रुप नदेखिदा उनले लेखेका थिए । आफूलाई नेपालको राज्य सम्झने काठमाण्डौं र काठमाण्डौंलाई आफ्नो बिर्ता सम्झने राजनीतिक दलका नेताहरुले मात्रै नभएर देश र जनताको स्वामित्व लिनु पर्ने सरकारले समेत आफ्नो भूमिक निभाउन सकेन । राज्यले आफ्नो भूमिका निभाउन नसक्दाको पीडाबाट ओकलिएको शीर्षक हुनु हो–‘कालापानी काठमाण्डौंलाई किन दुख्दैन ?’
यो प्रश्नले अर्को प्रश्नको उठान गरेको महसुस भएको छ, यतिखेर । ‘मान्छेलाई नदुखी राजधानीलाई कसरी दुख्न सक्छ कालापानी ?’ जो जोलाई कालापानीको भारतीय परेडले दुखेको छ उनीहरुको आवाज कहीँ पुग्दो छैन, यति मिहीन भयो कि राज्यका कुनै पनि निकायले सुन्न सकेको छैन ।
राज्यसत्तामा पुग्ने, राजनीतिक मियोको मूल प्रवाहमा रहेका मान्छेहरुलाई जबसम्म कालापानी, सुस्ता दुख्दैन तबसम्म काठमाण्डौंलाई त के कैलाली र खलंगालाई पनि कालापानी दुख्ने छैन । बहुदलीय व्यवस्था पुनस्र्थापनाको सात वर्षपछि मात्रै धामीलाई दुखेको कालापानी त्यतिबेलाका अन्य नेतालाई दुखे कै थिएन । ‘वाहियात मुद्दा’ भन्न नसके पनि तत्कालीन राजनीतिमा प्रभाव राख्ने अन्य नेताहरुले ‘यो राज्यले हेर्ने मुद्दा’ भन्दै मन दुखाएका थिएनन् । अहिले पनि केही तप्का र नेताहरुले ‘कालापानीको आवाज निकाल्नेहरुले किन समाधान गर्न सकेनन् त ?’ भन्दै आफ्नो मनलाई दह्रो बनाएका छन्, कालापानीले मन दुखाएका छैनन् । कालापानी हल गर्नु पर्ने समस्या थियो र छ तर यसलाई राजनीतिको जस अपसज लिनेदिने मुद्दा बनाइदै छ, स्वर्गीय प्रेमसिह धामी ज्यु ‘अझै दुखेको छैन कालापानी काठमाण्डौंलाई ?’
साँच्चै भन्ने हो भने स्वर्गीय प्रेमसिह धामीबाहेक अरु कसैको मन देखिने गरी दुखेको महसुस हुन सकेको छैन । समस्या समाधानका लागि विज्ञ समूह निर्माण गरेर वर्तमान प्रधानमन्त्रीले दुखेको घाउमा मलहम लाग्ने हो कि भन्ने आशा पलाउने काम गरेका थिए तर नतिजा नस्किन सकेको छैन । प्रधानमन्त्री वा अमुक व्यक्तिले मात्रै मलहम लगाउने प्रयास गरेर देश सञ्चो हुँदैन, त्यसका लागि सबैको आवाज एक हुनु जरुरी छ । तर यहाँ एक पक्ष कालापानीको आलाप गर्छ अर्को पक्ष कुटनीतिक र राजकीय जलप भर्छ । अनि, कसरी दुखोस् कालापानी काठमाण्डौंलाई ?
मान्छे मान्छेलाई, नेपाली नेपालीलाई कालापानी नदुखेसम्म कालापानी काठमाण्डौंलाई दुख्ला जस्तो छैन । तर अचम्म के भने एक आँठो घाँसका लागि, एक घर्को आलीका लागि, एक भोटका लागि झगडा गर्ने नेपाली जनमानसको मन सयौं हेक्टर जमिनमाथि कब्जा हुँदा निशब्द किन छ ? काठमाण्डौंलाई कालापानी दुखाउन प्रेमसिह धामीको पुनर्जन्म हुर्नै पर्ने हो वा अन्यलाई पनि दुख्न सक्ने बनाउन सकिने हो ? अहिलेको राजनीतिक नेतृत्वले जवाफ दिनु पर्दछ । राज्य, देशका लागि सत्तापक्ष वा प्रतिपक्षको टिका लगाईनु हुँदैन ।
एक समय वर्तमान पर्यटन मन्त्रीले दार्चुला पुगेर ‘कालापानी आफूलाई पनि दुखेको’ र ‘कालापानी कुच’ गरेको स्मरण मात्रै गराएका थिएनन्, स्वर्गीय प्रेमसिह धामीका नाममा अक्षय कोष खडा गरेर धामीको चिरस्मरण गर्ने कामका लागि प्रतिबद्धता जनाएका थिए । राजनीतिक उन्माद हुँदा ‘कालापानी कुच’ गर्ने र दार्चुला पुगेर भाषणमा धामीलाई चिरस्मरण गर्ने व्यक्ति मन्त्री हुँदा ‘कालापानी दुख्दो रहेनछ’ भने अरु मान्छेहरुलाई कालापानी कसरी दुखोस् ? सबै सुदुरपश्चिमलाई र हाम्रा सबै नेताहरुलाई कालापानी दुखेको छैन भने कालापानी कसरी काठमाण्डौंलाई दुख्न सक्छ ?
प्रतिक्रिया दिनुहोस्: