Bagmati Samachar Logo

कोरोनाः सार्कका कुन देश कति प्रभावित

काठमाडौं । २५ चैत । दक्षिण एशियाका देशमा पनि कोरोना भाइरसको प्रभाव परेको छ । विश्वभरी फैलिएको कोरोनाको महामारीबाट दक्षिण एशियाली देशहरू पनि यसको महामारीको शिकार भएका छन् ।

अहिले सार्क देशहरूमा ९ हजार ५१ मानिसमा कोरोना सक्रमण देखिएको छ । सार्क देशमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको भारतमा हो । भारतमा अहिलेसम्म ४ हजार ८ सय ९ जना कोरोना भाइरस सक्रमणका बिमारी भेटिएका छन् । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ । २४ घण्टामा १ सय ३० जना नयाँ बिमारी देखिएका छन् । ३ सय ८२ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । ३ हजार ९ सय ८१ जनाको अस्पतालमा उपचार जारी रहेको छ ।

कोरोनाको सक्रमण दोस्रो नम्बरमा पाकिस्तान परेको छ । पाकिस्तानमा अहिले ४ हजार ४ जना कोरोना सक्रमणका बिमारी छन् । मृत्यु हुनेको संख्या ५७ पुगेको छ । यहाँ २४ घण्टामा २ सय ३८ जना बिमारी देखिएका छन् । ४ सय २९ जना सन्चो भएर घर फर्केका छन् । ३ हजार ५ सय २० जनाको अस्पतालमा उपचार भइरहेको छ ।

अफगानिस्ता अहिले तेस्रो नम्बरमा छ । यहाँ ४ सय २३ जनामा कोरोना भाइरस सक्रमण भएको छ । ११ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना भाइरस देखिएको छ । १८ जना सन्चो भएर अस्पतालबाट घर फर्कि सकेका छन् । अहिले पनि ३ सय ९४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

चौथो नम्बरमा श्रीलंका रहेको छ । यहाँ १ सय ८३ जनामा कोरोना भाइरस सक्रमण भएको छ । ७ जनाको यो भाइरसका कारण मृत्यु भएको छ । ४२ जना उपचारपछि सन्चो भएर घर फर्केका छन् । १ सय ३५ जनाको अहिले पनि उपचार भइरहेको छ ।

बंगलादेश पाँचौ नम्बरमा पर्छ । यहाँ अहिलेसम्म कोरोना भाइरस सक्रमणको संख्या १ सय ६४ जना रहेका छन् । २२ जनाको मृत्यु भएको छ । यो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस देखिएको छ । ३३ जना सन्चो भएर घर फर्केका छन् । १ सय १४ जनाको उपचार जारी रहेको छ ।

माल्दिभ्स छैटौँ नम्बरमा छ । यहाँ अहिलेसम्म कोरोना भाइरसका बिमारी १९ जना रहेका छन् । १३ जना उपचारपछि घर फर्केका छन् । ६ जनाको उपचार जारी रहेको छ ।

नेपाल सातौँ नम्बरमा छ । नेपालमा अहिलेसम्म जम्मा ९ जनामा कोरोना भाइरस देखा परेको छ । जसमा १ जना पूर्ण रुपमा सन्चो भएर घर फर्केका छन् भने ८ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

भुटान आठौँ नम्बरमा छ । यहाँ अहिलेसम्म ५ जनामा कोरोना भाइरस देखिएको छ । जसमा २ जनालाई सन्चो भइसकेको छ । ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

सार्क देशमा रहेका ८ वटा देशमध्य तीन वटा देशमा अहिलेसम्म कोरोनाका कारण कसैको मृत्यु भएको छैन ।