सरिता गिरीले हालेको संशोधन फिर्ता लिन पार्टीले दियो निर्देशन
काठमाडौं । २८ जेठ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएकि छिन् । उनले संशोधन विधेयक खारेजको माग गदै संशोधन दर्ता गराएपछि पार्टीले उनलाई सो संशोधन फिर्ता लिन निर्देशन दिएको छ ।
समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो ।
उनले आज विधेयक दर्ता गराएसँगै चौतर्फी आलोचना भएपछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो ।
उनले नेपालको संविधानको दोस्रो संशोधनमा संसदीय दलका निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको हो । संशोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।
सांसद गिरीले आज संसद सचिवालयमा दर्ता गराएको विधेयकमाथिको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी छिन् ।
दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्ने गरी संविधान संशोधनका लागि सरकारले विधेयक प्रस्तुत गरोको थियो ।
प्रतिक्रिया दिनुहोस्: