Bagmati Samachar Logo

प्रदर्शन र आरोप–प्रत्यारोप रोक्न दोस्रो पुस्ताका नेताहरुको अध्यक्षद्धयलाई खबरदारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो पुस्ताका नेताहरुले अध्यक्षद्धयलाई सडक प्रदर्शन र आरोपप्रत्यरोप रोक्न माग गरेका छन् ।
बिहीबार नेताहरु घनश्याम भुषाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, बर्षमान पुन शक्ति बस्नेत र शंकर पोखरेल लगायतको बैठकले पार्टीमा बढेको आन्तरिक विवाद सडक प्रदर्शन र आरोप–प्रत्यारोपले झन बढ्दै जाने भन्दै त्यस्ता क्रियाकलाप रोक्न अध्यक्षद्धयलाई सुझाव दिने निर्णय गरेको हो ।

बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा झण्डै तीन घण्टा भएको छलफलमा पार्टी विभाजनबाट बचाउन जस्तोसुकै कदम चाल्नुपरे पनि दोस्रो तहका नेताहरुपछि हट्न नहुने उनीहरुको निष्कर्ष छ । यस्तै उनीहरुले शीर्ष नेतालाई संवादबाटै निकास खोज्न आग्रह गर्ने विषयमा छलफल भएको सहभागी एक नेताले बताए ।

पार्टीबाट राजीनामाको दवाव बढेपछि पछिल्ला केही दिनयता प्रधानमन्त्री ओलीको पक्षमा सडकमा प्रदर्शन हुँदै आएको छ । सहभागी ती नेताले भने ‘ पछिल्लो समय शीर्ष नेता टेवलमा बसेर संवाद सुरु भएपछि लाखौ नेता कार्यकर्तामा पार्टी फुटबाट जोगिने आशा जगाएको भन्दै बरु अझै समय बढाएर भएपनि नेताहरुले संवादबाटै निकास खोज्नुपर्नेमा सहभागी सवै नेताहरु सहमत भएका छौ।’
‘अझै समय चाहिन्छ भने समय लिनुुस्, कुल डाउन भएर सम्वाद गर्नुस र निश्कर्ष निकाल्नुस त्यसका लागि हामी साथमा छौ । त्यस्तै अन्तरविरोधहरु सडकसम्म पुग्यो । आरोप प्रत्यारोप बढ्न थाल्यो यो रोेक्न आग्रह गर्ने विषयमा छलफल भयो’, अर्का एक स्थायी समिति सदस्यले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरुको क्याम्पियन पनि रोक्नुपर्यो भन्ने छलफल भयो ।’

यसअघि पनि दोस्रो तहका नेताहरुले शीर्ष नेताहरुलाई टेवलमा बसेर समस्याको निकास खोज्न दवाव दिएका थिए । नेकपामा जारी स्थायी समिति बैठकमा धेरैजसो नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको राजीनामा मागेपछि पार्टी फुटको संघारमा पुगेको छ ।

ओली कुुनै हालतमा राजीनामा नदिने अडानमा छन् भने राजीनामा नदिई निकास नआउने अर्को पक्षको अडान छ । त्यसमा सहमति गर्न गत आइतबारदेखि लगातार ओली प्रचण्ड वार्ता भएपनि सहमति जुट्न सकेको छैन ।
सहमति खोज्न आइतबारदेखि बुधबारसम्म ओली प्रचण्डबीच एक्लाएक्लै वार्ता भएपनि बुधबारको वार्ताले बिहीबार उनीहरुबीच संवाद नै हुन सकेन ।

बुधबारको भेटवार्तामा प्रचण्डले सहमतिका लागि दुईमध्ये एक पद छाडेर निकास दिन ओलीलाई आग्रह गर्दा पनि उनी सकारात्मक नभएपछि बिहीबार वार्ता नै हुन सकेन । जसका कारण स्थिति थप जटिल बनेको हो कि भन्ने नेता कार्यकर्तामा आशंका पैदा भएको छ ।

बिहीबार ओलीले बालुवाटारमा आफू निकटका नेताहरुसँग परामर्श जारी राखे भने अर्का अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पनि आन्तरिक परामर्शमै व्यस्त रहे । उता यसअघि सहमति खोज्न भन्दै तीन पटक स्थगित भएको स्थायी समिति बैठक असार २६ गते शुक्रबारलाई बोलाइएको छ ।

दुई अध्यक्षबीच नै सहमति नजुटेपछि उक्त बैठक फेरि सर्ने या बस्ने भन्ने अनिश्चित जस्तै भएको छ । यस्तो बेला केही नेताहरुले समय लगाएर भएपनि सहमति खोज्नुपर्ने पक्षमा उभिएपनि केही नेताहरु भने सम्वादका नाममा अनन्तकालसम्म पार्टीलाई बन्धक बनाउन नहुने पक्षमा उभिएका छन् । उनीहरु पार्टीको विधि विधान अनुसार सहमति हुन नसकेका र उठेका एजेण्डाहरुमा पार्टी कमिटिबाटै निर्णय गर्नुपर्ने पक्षमा उभिएका छन् ।