स्थायी कमिटी बैठकमा ओलीले भने संवैधानिक परिषद्ले कुनै निर्णय गरेको छैन
काठमाडौं । १ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को हिजो मंगलवारको बैठकले कुनै निर्णय नगरेको आज बसेको स्थायी कमिटीको बैठकलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको स्थायी कमिटी बैठकमा ओलीले मंगलवार कुनै पनि संवैधानिक नियुक्तिको निर्णय नभएको जानकारी गराएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति विद्या भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि मंगलवार साँझ परिषद्को बैठक बसेको थियो ।
बैठकमा सरकारले अध्यादेश फिर्ता गर्ने र अर्को पक्षले संसदको विशेष अधिवेशनको माग स्थगित गर्ने सर्वसम्मत सहमति भएको प्रवक्ता श्रेष्ठले बताए ।
स्थायी कमिटी बैठकले सरकारले जारी गरेको अध्यादेश फिर्ता लिने र राष्ट्रपतिसक्षम संसदको माग गरेर पेश गर्ने भनिएको आवेदन सर्वसम्मतिले फिर्ता गर्ने सर्वसम्मत निर्णय गरेको छ,’ श्रेष्ठले भने ।
नेकपा स्थायी कमिटीको बैठक पुस ५ गतेसम्म स्थगित भएको छ । पुस ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस १० गते बस्ने सहमति भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा २ पटक छलफल भएको थियो । प्रधानमन्त्री ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न राजी भएपछि संसदको विशेष अधिवेशनका लागि समावेदन गर्ने तयारीबाट नेकपाको अर्को समूह पछि हटेको थियो ।
मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा ओलीले प्रचण्डको प्रस्तावमा छलफल गर्ने बैठकका उपस्थित हुन नसक्ने भन्दै लिखित पत्र पठाएका थिए । केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्न मंसिर २८ गते बसेको बैठकमा भने ओली सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्: