काठमाडौंका सिडिओले भने मापदण्ड पालना नगरे एक वर्ष कैद र पाँच लाख जरिवाना
काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीले अध्यादेश अनुसारको मापदण्ड पालना नगरे जेल हाल्ने चेतावनी दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले अध्यादेश अनुसारको मापदण्ड पालना नगरे एक वर्ष जेल हाल्ने चेतावनी दिएका हुन् । कसैले यो अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने गरेमा एक बर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने विज्ञप्तिमा उल्लेख छ । सरकारले भर्खरै जारी गरेको कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ अनुसार यस्तो चेतावनी दिएको हो ।
प्रजिअको चेतावनी यस्तो छ
१. कसैले यो अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने गरेमा एक बर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
२. यो अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा छ महिना सम्म कैद वा तीन लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
३.यो अध्यादेश बमोजिम दिइएको आदेश पालना गर्नुपर्ने, कुनै व्यक्तिले उक्त आदेश उलंघन गरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उलंघन गरेमा पाँच लाख रुपैयाँ सम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्ने ।
४. मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एक सय रुपैयाँ, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सो को उलंघन गरेमा पटकै पिच्छे दुई सय रुपैयाँ, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति विना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पाङग्रे सवारी साधन भए दुई हजार रुपैयाँ र अन्य सवारी साधन भए पाँच हजार रुपैयाँ तत्कालै सुरक्षाकर्मीले जरिवाना गर्नेछन् । यस प्रकारको सवारी साधन सुरक्षाकर्मीले निश्चित समय सम्म नियन्त्रणमा लिनेछन्।
५. यस अध्यादेश विपरितको काम गर्ने संस्था वा व्यवसायलाई माथि उल्लेख भएको सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले छ महिना सम्मको लागि बन्द गर्न आदेश दिन सक्नेछ ।
प्रतिक्रिया दिनुहोस्: