Bagmati Samachar Logo

कथित मधेशका मसिहाबाट मधेशी जनताको मुक्ति असम्भवः अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कथित मधेशका मसिहाबाट मधेशी जनताको मुक्ति सम्भव नरहेको बताएका छन्। सर्लाही समन्वय समिति काठमाडौंले सोमबार जोरपाटीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेसी जनताको अधिकारका निम्ति लडिराख्ने पार्टी माओवादी नै भएकोमा बताएका छन् ।

‘‘माओवादीले मात्रै मधेशी जनतालाई मुक्ति दिलाउन सक्छ। दलालहरू मधेशको मसिहा बनेर लुट्न खोजेका छन्। उनीहरूबाट सावधान भएर बस्नुस्,’ उनले भने, ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने अव मधेसमा अरू पार्टी हुने छैनन्। माओवादी केन्द्रले कब्जा गर्नेछ।’

अध्यक्ष प्रचण्डले माओवादीलाई बदनाम गराउन गौर हत्याकाण्ड गरेर मधेशमा भ्रम छरिएको जिकिर गर्दै त्यस्ता भ्रमलाई चिर्न निर्देशन दिएका छन्। प्रदेश २ माओवादीमय नभएसम्म मधेशी जनताले अधिकार पाउन नसक्ने उनले बताए। माओवादीले मत नपाउँदा विगत तीन वर्षको परिणाम सबैले भोगिसकेको उनको भनाइ थियो । ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’

केपी ओलीले परिवर्तनको विरोध गरेर संघीयता, लोकतन्त्र र संविधानलाई धरापमा पार्ने काम गरेको उहनको भनाई थियो । अध्यक्षले प्रतिगामी र प्रतिक्रान्तिकारीहरू पछारिए पनि उनीहरू अझै चलमलाउने प्रयास भइरहेको बताए ‘प्रतिक्रान्तिकारीहरू पछारिएका छन्। केही दिनपछि एक नम्बर र बागमती प्रदेशमा पनि उनीहरू ढल्नेछन्,’ उनले बताए।