Bagmati Samachar Logo

संघर्षशील पञ्चा सिंहः कालीकोटदेखि अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षसम्म

काठमाडौं । पञ्चा सिंह, अखिल क्रान्तिकारीमा हालै चयन भएकी केन्द्रीय अध्यक्ष । अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनबाट उनि अध्यक्ष बन्न सफल बनिन् ।
क्रान्तिकारीको महिला अध्यक्ष बनेर उनले इतिहास रचिन् । कर्णाली प्रदेशको कालिकोटको डिल्लीकोटको सिमखेत जन्मेकी सिंह २०५८ सालमा १० कक्षा पढ्दै गर्दा माओवादी पार्टीको कलाकारमा जोडिएकी थिइन ।

उनी विद्यार्थी संगठनमा जोडिएपछि जुम्ला जिल्ला कार्यक्षेत्र बनाइन् । देशमा जनयुद्धको रापताप थियो । समानताको, समृद्धिको न्यायको नारा गाँउ गाउँमा गुन्जेको थियो ।
राजधानीबाट कोषौं टाढा अनकण्टार गाउँहरुको कुरा झन बेग्लै थियो । त्यहाँ त माओवादी सत्ता नै स्थापित भएको थियो ।

जनयुद्धमा हिंडिन उनि । आँफुलाई त्यो आँधिवेहेरीको सहयात्री बनाइन् र, सामेल भइन् परिवर्तनको स्वप्निल समाज परिवर्तनको बाटोमा । उनका बुबा गाउँकै विद्यालयको शिक्षक । खान लाउन पुग्ने परिवार । त्यही भएरै माओवादीहरु सेल्टरको लागि उनको घर आउँथे ।

उनले आफ्नो घरमा आएका माओवादीका कुरा सुन्थिन् । माओवादीले गरेका समानताका, न्यायका कुरा ध्यान दिएर सुन्थिन् । समानता, न्याय, महिला अधिकारका, दलित अधिकारका कुरा गरेको चाख मानेर सुन्थिन । बालमस्तिष्कले विस्तारै आधाआधी कुरा बुझेपछि उनी पनि त्यहि समानताको लागि हिंडिन् । उनी अहिलेपनि सम्झन्छिन् ती दिन ,म सानो थिएँ । माओवादीले गरेका समानताका कुरा, महिलाका अधिकारका कुराले माओवादी प्यारा लाग्थे । उनी विस्तारै विस्तारै माओवादीका कुराप्रति चाख राख्न थालिन् ।

अन्ततः २०५८ सालमा उनको घर भन्दा एक घण्टा टाढाको गाउँमा सांस्कृतिक कार्यक्रम थियो । घरमा केही साथीहरु आएर सांस्कृतिक कार्यक्रम हेर्न जाने योजना बताए । पञ्चा त्यो कार्यक्रममा नजाने भनेर बसिन् ।

सांस्कृतिक कार्यक्रमले मोडियो जिवन

पढाइमा राम्रै थिइन उनि । उनको पढ्ने चाहना थियो । तर माओवादीका कुरा सुनेर कता कता समानता र महिलामाथि हुने विभेदको पर्खाल भत्केला त ? मनमा नै अल्झेको थियो ।
तर साथीहरु माओवादीले आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेर्न गएपछि उनको विद्यार्थी जिवनमा राजनीति थपियो । उनको जिवन नै राजनीतिमा मोडियो ।

सुरुमा पञ्चाले सांस्कृतिक कार्यक्रम हेर्न भन्दा पनि होमवर्क बनाउने विचार थियो । तर साथिहरु आएर जाँउ कि जाँउ भनेपछि पनि पञ्चा जान तयार भइनन् । जब साथीहरुले पञ्चाको आमालाई भनेर जान तयार गराएका थिए । आमाको भनेको मानेर सांस्कृति कार्यक्रम हेर्न गएको पञ्चा त माओवादी भएर त्यहि कार्यक्रमबाट हिडिन् । जब कि आमाले पनि साथीहरु आएका छन् जाउ, साँझ छिटो आउनु भनेर पठाएकी थिइन ।

दिनभरि सांस्कृतिक कार्यक्रम हेरेर घर फर्कदै नफर्केर माओवादी अभियानमा गइन् । आमाको चाहना थियो–छोरी पढेर नर्स बनोस् । बुबाको चाहना थियो–छोरी पढेर शिक्षिका बनोस् । तर उनले यो भन्दा फरक बाटो समातिन्, समाज परिवर्तनको ।

आमाको लागि सन्तान सबै बराबर हुन् । तर पञ्चा विशेष थिइन् । उनी उनको आमा बुबाको चार सन्तान पछि कि छोरी । उनी भन्दा माथिका चारै दाईहरु सानै उमेरमा वितेका थिए । उनका आमा बुबाको लागि उनी विशेष नै थिइन् । उनी ती दिन सम्झिन्छिन् ‘मेरी आमाले धेरै सन्तान वियोग भोगेकाले होला मेरा बारेमा धेरै चिन्ता गर्नुहुन्थ्यो । त्यति नै माया गर्नुहुन्थ्यो । मैले आमा छोडेको दिन र माओवादी भएको दिन एउटै हो २०५८ को जेठमा ।’

संगै पार्टीमा लागेका साथीहरुले छिटो पार्टी सदस्यता पाए तर उनलाई भने ढिला सदस्यता दिए । उनले चासो राखिन् त्यसपछि । पछि थाहा पाइन बाबु कांग्रेस भएकाले भाग्छ भनेर ढिलो सदस्यता दिएका रहेछन् ।

उनी माओवादी पार्टीका पुर्णकालिन सदस्य २०५८ जेष्ठ २१ गते भइन् । त्यसको केहि समयपछि जुल्ला जिल्लाको अखिल (क्रान्तिकारी)को एरिया अध्यक्ष बनिन् । २०५८ साल अशोजमा अखिल (क्रान्तिकारी) जिल्ला समिति सदस्य बनिन् । २०५९ सालमा क्रान्तिकारीको जिल्ला कमिटी कोषाध्यक्ष चुनिन् ।

२०६० सालमा जुम्ला ंकालिकोटको अध्यक्ष बनिन् । उनी आफ्नो गृह जिल्ला राजनीति गर्न २०६२ मा फर्किइन् । कालिकोट उनको गृह जिल्ला थियो तर उनले बढी जुल्लामा काम गरेकी थिइन ।

अनेरास्ववियू क्रान्तिकारीको जुम्ला जिल्लाको अध्यक्ष भएर दुई बर्ष काम गरीन् । जिल्लाको अध्यक्ष भएपछि कामको चाप झन बढ्यो । त्यो क्षेत्रका सबै बैठक भेला प्रशिक्षणमा जानु पर्ने भयो ।

उनी जुम्लाको अध्यक्ष हुँदा देशका विभिन्न ठाउँमा सहयोगी साथी लिएर पार्टी र संगठनका निर्णयहरु र सर्कुलर लिन पुर्याउन जान्थिन् । उनी सल्यानका डाँडादेखि तराईका भूभागसम्म भूमिगत कालमा नै पुगेकी थिइन् ।

उनले जनयुद्धको समयमा नै एकपटक पत्रकार बन्ने सोच बनाइन् । उनी विद्यार्थी संगठनबाट विदा पनि भइन र पत्रकारिता गर्न गइन् । तर पार्टी नेतृत्वले मानेन । उनी पुन विद्यार्थीमा नै फर्किन् ।

त्यो समयमा भेरी कर्णालीका चर्चित नेता खड्ग बहादुर विकले उनलाई पुन ः विद्यार्थी संगठनमा काम गर्न भने । उनले पनि मानिन् । पत्रकार हुने रहर अहिलेसम्म रहर नै भएको छ ।

विद्यार्थी संगठनमा लागेपनि उनले पढाई भने निरन्तरता दिन सकेकि थिइनन् । पार्टी ,संगठनको जिम्मेवारीमा रहदा रहदै पढाइ भने उनको छुटेको थियो । शान्तिप्रक्रियामा आएपछि उनले पढाईलाई निरन्तरता दिइन् ।

अखिल क्रान्तिकारीको २०६४ सालको १७औ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भइन् । २०६५ साल फाल्गुनमा भएको एकता भेलाबाट सचिवालय सदस्य बनिन् ।
२०६७ को राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य तथा साविक भेरि कर्णाली प्रदेशको संयोजक बनिन् । २०७२ को राष्ट्रिय भेला बाट केन्द्रीय सचिव तथा भेरि कर्णाली प्रदेशको ईन्चार्ज इन्चार्ज बनिन् । क्रान्तिकारकिो बिस्तारित बैठकबाट केन्द्रीय उपाध्यक्ष बनिन् ।

एकताको २१आंै राष्ट्रिय सम्मेलनबाट सबैभन्दा बढी भोट ल्याएर सम्मेलनको ‘म्यान अफ द ईलेक्सन’ सहित केन्द्रीय उपाध्यक्षमा निर्बाचित भइन् । रन्जित तामाङ अध्यक्ष निर्वाचित भएका थिए ।

अहिले उनि अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनबाट अखिल क्रान्तिकारीको अध्यक्ष बनेकी छिन् । उनी अहिले मास्र्टस डिग्री अध्ययन गरीरहेकी छिन् । नेपालको विद्यार्थी आन्दोलनलाई अब हिजोको जसरी नै होइन केहि नयाँ तरिकाले लैजाने बताउँछिन् ।

अहिले नेपाली विद्यार्थी आन्दोलन हिजोको जस्तो जोश जागर नभएको आरोप लाग्ने गरेको छ । हिजो राजनीतिक दलहरुका विचार विद्यार्थीहरुले जनतासम्म पुगाउने गर्थे तर अहिले गणतन्त्र आएको छ । विद्यार्थीहरुको आन्दोलन हिजोको जस्तो हुदैन । तर नयाँ के हो त भनेर अन्यौलमा रहेको आरोप लाग्ने गरेको छ । सिंहलाई अखिल क्रान्तिकारीलाई कुन दिशामा लैजाने भनेर चुनौती र अबसर दुबै छन् । माओवादी आन्दोलनमा अखिल क्रान्तिकारीको महिला विद्यार्थी पहिलो पटक अध्यक्ष भएको छ । यो इतिहासमा अध्यक्ष भएर मात्र होइन उल्लेख्य काम गरेर नाम लेखाउने सुनौलो अवसर पनि छ ।