Bagmati Samachar Logo

इजरायलमा हमासको रकेट आक्रमण, ७ जना नेपाली घाइते

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले रकेट आक्रमण गर्दा त्यहाँ रहेका केही नेपाली पनि घाइते भएका छन् । तेलअबिबस्थित नेपाली राजदूतावासले ७ जना नेपाली घाइते भएको पुष्टि गरेको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली घाइते भएका हुन् । अन्य केही आक्रमणकारीको घेराबन्दीमा परेको समेत दूतावासले जनाएको छ ।

नेपाली दूतावासले घेराबन्दीमा परेका नेपाली र घाइते नेपालीको उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ । आज बिहानै हमासले इजरायलका विभिन्न शहरमा ५ हजार रकेट प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कम्तिमा २० जना इजरेली नागरिकको मृत्यु भएको समेत बताइएको छ । केही घाइतेसमेत भएका छन् ।

हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री वेन्जामिन न्यतन्याहुले युद्धको घोषणा गरेका छन् । इजरेली लडाकु विमानले हमासको नियन्त्रणमा रहेको गाजामा हवाइ आक्रमण गरेको जनाइएको छ । प्रवक्ता सेवा लम्सालले शिलापत्रलाई दिएको जानकारी अनुसार उक्त घटनाको विषयमा विस्तृत विवरण लिइरहेको र केही बेरमा विज्ञप्तिमार्फत पूर्ण जानकारी गराउने तयारी भइरहेको छ ।