त्रिविको भीसीका लागि तीन जनाको नाम सिफारिस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । समितिले आइतबार सर्ट लिस्टमा परेका १४ जनाको अन्तर्वार्ता लिएपछि चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बराललाई उपकुलपतिको लागि सिफारिस गरेको छ ।
शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आइतबार प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्ड समक्ष तीन जनाको नाम सिफारिस गरेको छ।
यसअघि समितिले उपकुलपतिका लागि दरखास्त आह्वान गर्दा ४३ जनाले आवेदन दिएका थिए । तीमध्ये एक जनाको दरखास्त रद्द गरिएको थियो । ४२ जनाबाट १४ जनाको नाम सर्ट लिस्ट गरिएको थियो ।
सर्ट लिस्टमा परेकाहरूले आइतबार विस्तृत कार्ययोजनासहित प्रस्तुती र अन्तर्वार्ता दिएका थिए । अब प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले तीन जनामध्येबाट एक जनालाई उपकुलपति नियुक्त गर्नेछन् । यसरी भिसीको लागि दर्खास्त आह्वान गरेर अन्र्तवाताबाट सर्ट लिस्ट गरेको पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्: