Bagmati Samachar Logo

टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको छ ।

सेन्ट भिन्सेन्टको आर्नोस भाले क्रिकेट रंगशालामा भएको खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको हो । दक्षिण अफ्रिकासँग पराजित भएसँगै नेपालको सुपर–८ को यात्रा समाप्त भएको छ । अर्थात्, नेपाल विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रनमै समेटियो ।नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । यस्तै, अनिल साहले २७ रनको योगदान दिए । २७ बलको सामना गरेका साहले ३ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, ओपनर कुशल भुर्तेलले १३ रन जोडे । २१ बलको सामना गरेका भुर्तेलले १ चौका र १ छक्का प्रहार गरे। सोमपाल कामी ८ रनमा अविजित रहँदा दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले ६–६ रन बनाए । कुशल मल्लले १ रन जोड्दा कप्तान रोहित पौडेल भने शून्य रनमै पभेलियन फर्किएका थिए ।

दक्षिण अफ्रिकाका तबरेन्ज सम्सीले ४, कप्तान एडेन काइल मार्कराम र एनरिक नार्टजेले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा ११५ रनको योगफल तयार पारेको हो । दक्षिण अफ्रिकाका लागि रिजा राफेल हेन्ड्रिक्सले सर्वाधिक ४३ रन जोडे ।

ट्रिस्टन स्टब्स २७ रनमा अविजित रहँदा कप्तान एडेन काइल मार्कराम १५ रनमा पभेलियन फर्किए । यसैगरी, क्विन्टन डी ककले १०, डेभिड मिलरले ७ र हेनरिक क्लासेनले ३ रन जोडे । मार्को जानसेन १ र कगिसो रबाडा शून्य रनमै पभेलियन फर्किए ।

नेपालका लागि कुशल भुर्तेलले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका भुर्तेलले १९ रन खर्चिएर ४ विकेट लिए । भुर्तेलले क्लासेनलाई ३, कप्तान मार्करामलाई १५, मार्को जानसेनलाई १ र कगिसो रबाडालाई शून्य रनमै पभेलियन फर्काएका थिए ।

४ ओभर नै बलिङ गरेका ऐरीले २१ रन खर्चिएर ३ विकेट लिने क्रममा हेन्ड्रिक्सलाई ४३, डी ककलाई १० र डेभिड मिलरलाई ७ रनमा पभेलियन फर्काएका थिए ।

समूह डी रहेको नेपालले अब आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्ने छ ।