Bagmati Samachar Logo

एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ, आइतबार अदालतमा पेश गरिने

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थापा शुक्रबार राजधानीको बौद्धबाट पक्राउ परेका हुन् ।

उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरीको खोजी सूचीमा रहेका उनी फरार रहँदै आएका थिए ।

शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका थिए ।

प्रतीकलाई आइतबार अदालतमा पेस गरिने भएको छ । भोलि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अभियुक्त हुन् । उनी अदालतबाट पक्राउ पुर्जी जारी भएको झण्डै १४ महिनामा पक्राउ परेका हुन् ।

प्रहरीले एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाडसहित भीआईपीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । सो प्रकरणमा रायमाझी अहिले पनि पुर्पक्षका लागि जेलमै छन् भने खाँण रिहा भएका छन् । यस्तै निलम्बित सचिव टेकनारायण पाण्डेलगायत थुनामा हुँदा अन्य केही भने धरौटीमा रिहा भएका छन् ।