Bagmati Samachar Logo

हनी ट्र्याप गरेर एक करोडको बार्गेनिङ गर्ने युवतीसहित दुई जना पक्राउ

काठमाडौं । हनी ट्र्याप गरेर एक करोड रुपैयाँको बार्गेनिङ गरेको आरोपमा युवतीसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हनी ट्रयापमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका तेन्जी डोमा छिरिङ भनिने सिर्जना तामाङ र सौरभ भनिने लिलाबहादुर तामाङलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

उनीहरूले योजनाबद्ध तवरले सामाजिक सञ्जालमार्फत पुरुषसँग सम्पर्क बढाउने र त्यसपछि बार्गेनिङ गरेर रकम असुल्ने कार्य गरेको प्रहरीले बताएको छ ।

पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरी अनुसन्धानका क्रममा सिर्जनाले पीडितसँग सामाजिक सञ्जालबाट कुरा गरी आफ्‍नो कोठामा भेट्न बोलाएको खुलेको छ । पीडित कोठामा आउन मन्जुर भएपछि लिलाबहादुरले भिडियो बनाउन सिर्जनालाई आफ्नो मोबाइल दिएको र अश्लील भिडियो बनाएर बार्गेनिङ गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले पीडितसँग १ करोडको बार्गेनिङ गरे पनि अन्तिममा १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू ठगिएपछि पीडित प्रहरीमा पुगेका थिए ।