Bagmati Samachar Logo

वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरी खोजिँदैछ त्रिशूलीमा खसेको बस र बेपत्ता यात्रु

काठमाडौं । नारायणगढ–मुग्लिन सडक अन्तर्गत सिमलतालमामा पहिरोमा परेर त्रिशुली नदिमा खसेका दुई बस खोज्न वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित झोलुंगे पुलनजिक हिजो बिहान तीन बजेतिर पहिरोमा परी दुई बस त्रिशूलीमा खसेका छन् ।

शनिबार बिहान सशस्त्र प्रहरीले सोनार क्यामेरा, वाटर ड्रोन र पाइपलाइन इन्स्पेक्सन सिस्टम प्रयोग गरी त्रिशूलीमा खसेको बसको खोजी सुरू भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार सोनार क्यामेरा र्‍याफ्टबोटमा जडान गरी पानी भित्र पठाइन्छ। यसले पानीभित्रको वस्तुहरू हेर्न सहयोग पुर्‍याउँछ।

ती उपकरणसहित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित सशस्त्रको ३५ जनाको सुरक्षाकर्मी बेपत्ताहरूको खोजीकार्यमा परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए।

खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित छन्।

रगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलतालमा शुक्रबार बिहान त्रिशूली नदीमा खसेको थियो।

शुक्रबार साँझसम्म नदीमा खसेको बस र बेपत्ता भएको यात्रुहरूको खोजी गरिएपनि भेटिएको थिएन। खोजीका लागि शुक्रबार चुम्बक र रड प्रयोग गरिएको थियो।

शुक्रबार नदीमा पानीको बहाव उच्च भएकाले खोजी गर्न कठिन भएको थियो। आज त्रिशूलीमा पानीको वहाब कम भएकाले खोजीकार्य प्रभावकारी हुने बताइएको छ।