Bagmati Samachar Logo

महिला लिगमा थपिए चार टिम, भदौ तेस्रो सातादेखि सुरु हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिग आयोजनाका लागि बजेट पारि गरेको छ ।

एन्फाको बुधबार बसेको कार्यसमितिको भर्चुअल बैठकले यसै वर्ष हुने भनिएको महिला लिगका लागि दुई करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ पारित गरेको हो । भर्चुअल रुपमा बसेको बैठक कार्यसमितिमा रहेका २१ जनामध्ये आठ जनाले बहिस्कार गरेका थिए ।

बैठकले महिला लिगमा १० टिम सहभागी गराउने निर्णय गरेको छ । जसमा तीन विभागीय र तीन महिला लिग छनोटबाट आएका टिम, संकटा र वाग्मती युथ क्लब तथा वालिङ र चन्द्रपुर नगरपालिकालाई महिला लिगमा सहभागी गराउने निर्णय गरेको छ ।

एन्फाले महिला लिग भदौ १६ गतेदेखि सुरु हुने जनाएको छ । एन्फाका अनुसार लिगको सुरुआतमा १० टिमले सिंगल राउन्ड रोविन पद्दतिमा ४५ खेल खेल्नेछन् । यसबाट शीर्ष पाँच टिमले डबल राउन्ड रोविनमा २० खेल खेल्नेछन् । यसपछि पनि शीर्ष चार टिमले क्वालिफायर्स र इलिमिनेटर खेल्नेबाट फाइनल खेल्ने एन्फाले जनाएको छ । महिला लिगभर कुल ६९ खेलहरु हुनेछन् ।