Bagmati Samachar Logo

फिफा वरीयताः युरो विजेता स्पेन पाँच स्थान उक्लियो, अर्जेन्टिना शीर्ष स्थानमै

काठमाडौं । युरो–२०२४ विजेता स्पेनले फिफा वरीयतामा पाँच स्थान सुधार गरेको छ ।

फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार स्पेन पाँच स्थान उक्लिदै तेस्रो स्थानमा आएको छ । यसअघि स्पेन वरीयताको आठौँ स्थानमा थियो ।

युरो–२०२४ मा लगातार सात खेलमा जित निकाल्दै स्पेनले उपाधि उचालेको थियो । यही प्रदर्शनका कारण स्पेनले फिफाको वरीयतामा पाँचस्थान सुधार गरेको हो ।

वरीयताको शीर्ष स्थानमा भने विश्वकप विजेता अर्जेन्टिना यथावत् छ । अर्जेन्टिनाले अमेरिकामा भएको कोपा अमेरिका–२०२४ को फाइनलमा कोलम्बियालाई १–० ले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

वरीयताको दोस्रो स्थानमा फ्रान्स पनि यथावत् छ । तेस्रो स्थानमा स्पेन आउँदा चौथो स्थानमा इंग्ल्यान्ड उक्लिएको छ । इंग्ल्यान्ड यसअघि वरीयताको पाँचौ स्थानमा थियो ।

वरीयताको पाँचौ स्थानमा भने ब्राजिल छ । यसअघि चौथो स्थानको ब्राजिल एक स्थान खस्किदै पाँचौमा झरेको हो । छैटौँ स्थानमा बेल्जियम छ । बेल्जियम पनि तीन स्थान घटुवामा परेको हो । सातौँ स्थानमा नेदरल्यान्ड्स, आठौँ स्थानमा पोर्चुगल, नवौँ स्थानमा कोलम्बिया र १०औँ स्थानमा इटाली छन् ।