Bagmati Samachar Logo

हर्क साम्पाङको पक्षमा लागेर पत्रकार धमलालाइ आक्रमण गर्ने ७ जना पक्राउ

काठमाडाैं । सुनसरीको धरानकी संजिता धमलालाई सार्वजनिक स्थलमा आक्रमण गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरानस्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न एक्सरेको लाइनमा बसिरहेको अवस्थामा धमलालाई सात जना महिलाको समूहले आक्रमण गरेको थियो ।

आक्रमणमा संलग्नविरुद्ध धमलाले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको र अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ गरिएका ७ जनालाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमति लिएको सुनसरी प्रहरीले जनाएको छ ।

यता धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङपनि झन्डै दुई सातादेखि पत्रकार सन्जिता धमलाविरूद्ध फेसबुकमा लेख्नेदेखि लिएर सडक प्रदर्शनसम्म गरिरहेका छन्। मेयरको पक्षमा लागेकाहरुले पत्रकार धमलालाई अस्पतालमा नै गरेर कुटपिट गरेकाले पक्राउ परेका छन् ।

असार दोस्रो साता धरानमा आयोजित एउटा सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार धमलाले ुधरानका जनप्रतिनिधिहरूले नागरिकता बनाउँदा पनि घुस लिएको गुनासो आउन थालेको छु भन्ने प्रश्न गरेकी थिइन्। उनले यस्तो भनेको भोलिपल्टैदेखि मेयर साम्पाङले फेसबुकमा धमलाविरूद्ध लेख्न थाले।

नगरपालिकामा आएर प्रमाण दिनु भन्ने शैलीमा लेखेका साम्पाङले फेसबुकबाटै नगरमा उपस्थित हुन धमलालाई निर्देशनात्मक आदेश दिए। असार २१ मा धमला मेयरको कार्यकक्षमा पुगिन्। त्यहाँ पनि उनले मेयरलाई ुफेसबुकमा लेखेर नागरिकलाई बेइज्जत गर्ने तपाईंको तरिका के हो, जनताका रूपमा आएको मलाई स्पष्टीकरण दिनुस्ु भनिन्।

त्यो भेटमा मेयर साम्पाङले धमलामाथि अर्को आरोप पनि लगाए।

‘पहाडबाट धरान आउने महिलाहरूले यौनधन्दा गरेको र जनप्रतिनिधिले नागरिकता बेचेको भनेर तपाईंले नगरको बेइज्जत गर्नुभएको छ। मलाई प्रमाण दिनुस्,’ मेयरले त्यस दिन भनेको कुरा भिडिओमा छ।

जबाफमा पत्रकार धमलाले भनेकी छन्, ‘तपाईंलाई मैले प्रमाण किन दिने ? तपाईं को हो ?’

‘म स्थानीय सरकारको प्रमुख हुँ,’ भन्दै साम्पाङले धमलालाई घरी तिमी र घरी तपाईं भन्दै थर्काउन खोज्छन्। उनको धम्कीबाट नडराएकी धमलालाई अन्ततः प्रहरी बोलाएर लछारपछार पार्दै मेयरको कार्यकक्षबाट बाहिर निकालिन्छ।

प्रहरीले हातपात गरी लछारपछार गरेको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी ९सिडिओ० रामचन्द्र तिवारीले सोही दिन छानबिन समिति गठन गरे। यसपछि मेयर साम्पाङ तत्कालीन गृहमन्त्री रवि लामिछाने र सिडिओ तिवारीविरूद्ध पनि जाइलाग्न थाले।

सिडिओ र गृहमन्त्रीले धमलालाई पक्राउ नगरेर अराजकता प्रोत्साहित गरेको, धरानको बेइज्जत गर्ने व्यक्तिलाई प्रशासनले त्यसै छाडिरहेको भन्दै साम्पाङ दिनदिनै सामाजिक सन्जालमा लेखिरहन्छन्। पत्रकारको पक्षमा विज्ञप्ति निकालेको पत्रकार महासंघलाई त मेयर साम्पाङले ‘नेपाल पत्रकार महास्वाङ’ भन्दै भिडिओ बनाएरै उडाएका छन्।

कुटपिट घटनामा संलग्न भएको भन्दै प्रहरीले धरान–१५ की ४२ वर्षीय चन्द्रकला थेवे, धरान १९ की ३४ वर्षीय मुना राई, धरान १७ की ५६ वर्षीय प्रमिला राई, धरान ११ की ४५ वर्षीय शर्मिला राई, धरान १ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान १७ की ४० वर्षीय पूर्ण वान्तावा राई र ३५ वर्षीय सिर्जना बेघालाई पक्राउ गरी कारबाही अगाडि बढाएको हो । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।