आठौं आक्रमणमा मारिए इजरायलले लादेन नाम दिएका तर हात खुट्टा र आँखा गुमाएका हमास कमान्डर
एजेन्सी
काठमाडौं । हमासको सैन्य शाखा प्रमुख मोहम्मद दाइफ (अरबमा जायफ) मारिएको दाबी इजरायलले गरेको छ । जेरुसेलम पोस्टका अनुसार, उनी दक्षिणी गाजामा इजरायली हवाई आक्रमणमा गत महिना मारिएको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले पुष्टि गरेको छ । बिहीबार बिहान दाइफको मृत्यु पुष्टि हुने गोप्य जानकारी पाएको आईडीएफले जनाएको छ ।
५८ वर्षीय दाइफले दुई दशकभन्दा बढी समय इज्ज–अद–दनि अल–कसाम ब्रिगेडको नेतृत्व गरेका थिए । लामो समयदेखि उनी इजरायलको तारो बनेका कमान्डरमध्ये एक थिए । बुधबार मात्र हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हनिया इरानको तेहरानमा मारिएका छन् । उनलाई इजरायलले मारेको आरोप हमासले लगाएको छ ।
हमासका मास्टरमाइन्ड
हमास र इजरायलबीच तनावको इतिहास लामो छ । इजरायलले मानवीय र भौतिक क्षति झेल्नुपर्ने गरी जति पनि आक्रमणको सामना गरेको छ, यस्तोमा एउटा नाम सधैँ अगाडि आउने गर्थ्यो मोहम्मद दाइफ ।
२० वर्षयता इजरायलको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दाइफलाई इजरायलले नयाँ ओसामा विन लादेनको नामाकरण गरेको थियो ।
यसअघि सम्पूर्ण बल लगाएर इजरायलले उनलाई मार्न सातपल्ट प्रयास गरे पनि सफल हुन सकेको थिएन । बरु दाइफले बारम्बार आक्रमण गरी इजरायलको निद्रा खोसेका थिए ।
दाइफ, जसले आँखा, हात र खुट्टा गुमाए
दाइफको एउटा आँखा, एउटा हात र एउटा खुट्टा थिएन । २० वर्षयता ह्विलचेयरको सहाराबिना दुई पाइला सार्न नसक्ने उनै दाइफले हतियार, सेना र प्रविधिमा संसारकै अब्बल देश इजरायललाई वर्षौंदेखि चैनको सास लिन दिएका थिएनन् ।
इजरायलसँग संघर्षका बीच उनी मारिएको समाचार बाहिरिएको छ । प्यालेस्टाइनी नागरिक दाइफ सन् २०२० देखि हमास सेनाका प्रमुख थिए । उनकै नेतृत्वमा हमासले कैयौँपल्ट इजरायलमाथि आक्रमण गरिसकेको छ ।
ह्वील चेयरमा जीवन
मोहम्मद दाइफको जन्म सन् १९६५ मा गाजामा भएको थियो । उनी जन्मिँदा गाजा इजिप्टको कब्जामा थियो । पछि इजरायलले अरबी देशहरूसँग युद्ध लडेर वेस्ट बैंक र गाजा कब्जा गरेको थियो ।
इजरायलको यही कदमविरुद्ध खरो उत्रेका दाइफका बारेमा थाहा पाइने प्यालेस्टाइनी र इजरायली मिडियाबाटै हो । तर, दाइफको बाल्यकालबारे प्यालेस्टाइन र इजरायली मिडियामा पनि धेरै जानकारी उपलब्ध छैन । उनी सानैदेखि युद्धकै माहौलमा हुर्किएको र हमास अस्तित्वमा आउँदा युवा रहेको अनुमान गरिन्छ । हमास सन् १९८७ देखि अस्तित्वमा आएको हो ।
गाजास्थित इस्लामिक विश्वविद्यालयमा पढ्दा दाइफ हमाससँग नजिकिएका थिए । प्यालेस्टाइनका विभिन्न नेता पनि स्वतन्त्रता आन्दोलनमा थिए । त्यही बेलादेखि दाइफले प्यालेस्टाइनका तर्फबाट इजरायलमाथि निरन्तर आक्रमण गर्न थालेका हुन् ।
दाइफका बुबा मोहम्मद दिआब इब्राहिम अल मसरी हुन् । गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेको क्षेत्रमा सन् १९५० को दशकमा दाइफका बुबा, काकाले सशस्त्र प्यालेस्टाइनीको पक्षबाट युद्ध लडेका थिए ।
भेट्यो कि रेट्यो
इजरायलले बारम्बार दाइफलाई मार्ने कोसिस गरे पनि सफल हुन सकेको थिएन । दाइफलाई सिध्याउन इजरायलले कम्तीमा सात प्रयास गरेको बताइन्छ । सन् २०१४ मा दाइफलाई मार्न इजरायली सेनाले एक घरमा छापा मारेको थियो । उक्त अपरेसनमा दाइफकी श्रीमती र दुई बच्चा मारिए । तीन वर्षअघि पनि इजरायलले उनलाई मार्ने योजना बनाएको थियो ।
इजरायल डिफेन्स फोर्स ९आईडीएफ० का प्रवक्ताले न्युयोर्क टाइम्ससँग भनेका थिए, ‘पूरै अपरेसनका बेला हामीले मोहम्मद दाइफलाई दुईपल्ट मार्ने प्रयास गर्यौँ, तर हरेकपल्ट ऊ बचेर निस्कियो ।’
मध्यपूर्वका सुरक्षा विशेषज्ञ म्याथ्यु लिभिटका अनुसार, हमासको सैनिक क्षमताका लागि निकै महत्त्वपूर्ण मानिएका मानिसहरूको सूचीमा दाइफको नाम शीर्ष स्थानमा थियो ।
अमेरिकी विदेश मन्त्रालयको आतंकवादविरोधी सल्लाहकारसमेत रहिसकेका लिभिटका अनुसार, दाइफ हमासको प्रमुख योजनाकार थिए । उनी कथित् चरमपन्थी कमान्डर याहयाह अह्यासका निकट मानिन्थे । बम बनाउन माहिर याहयाह इन्जिनियर थिए । ९० को दशकको सुरुवाती वर्षमा इजरायली बसहरू ध्वस्त पारेको आरोप याहयाहमाथि नै थियो । सन् १९९६ मा इजरायलले उनको हत्या गरेपछि बसमाथिको आक्रमण फेरि बढ्यो । याहयाह मारेको बदला लिनलाई दाइफले नै यस्तो योजना बनाएको मानिन्छ । यसबाहेक अन्य विभिन्न आक्रमणमा पनि उनको हात छ । त्यसैले इजरायल उनको ज्यानको पछाडि हात धोएर लागेको हो ।
सातपल्ट कसरी बाँचे ?
द सनको एक रिपोर्टअनुसार, मोहम्मद दाइफ गाजामा बनेको भूमिगत सुरुङको नेटवर्कभित्रै हुन्थे । मूलतः यही सुरुङका कारण इजरायली गुप्तचर मोसादको हातबाट उनी बच्दै आएका थिए । इजरायलबाट बारम्बार जोगिनुको अर्को प्रमुख कारण उनले कहिल्यै आधुनिक प्रविधिको प्रयोग नगर्नु पनि हो ।
यसबाहेक सुरुङको गहिराइ, पुरानो गुप्तचर संरचना, धनमालको नोक्सानीको खतरा र हतियारको काम नगर्नु नै उनी जोगिनुका अन्य कारण थिए । हमासको सुरुङ बनाउनमा पनि दाइफको महत्त्वपूर्ण भूमिका छ ।
रिपोर्टअनुसार, उनी कहिल्यै एकैठाउँमा बस्दैन थिए । हरेक रात आफ्नो बस्ने ठाउँ बदल्थे । इजरायलसँग पनि उनको एउटा मात्रै तस्वीर छ ।
शरणार्थी शिविरमा जन्मेका दाइफ सानैदेखि युद्धको वातावरणमा हुर्किए । फिरन्ते जीवनशैली र इजरायलको हवाई आक्रमणबाट जोगिन भागेको भाग्यै गर्नुपर्ने भएकाले उनलाई ‘दाइफ’ भन्न थालियो । कतिपयले यो नाम उनले आफैँ राखेको पनि भन्छन् । ‘दाइफ’को अरबी अर्थ ‘पाहुना’ भन्ने हुन्छ । नामअनुसार नै उनी हरेक दिन ठाउँ बदल्थे, घर बदल्थे । हरेक दिन उनी कतै न कतैका पाहुना बन्थे । उनको वास्तविक नाम मोहम्मद दाइफ इब्राहिम अल(मसरी हो ।
‘द क्याट विथ नाइट लाइभ्स’
इजरायलसँग संघर्षका क्रममा नै दाइफले एउटा आँखा, एउटा हात र एउटा खुट्टा गुमाएका थिए । धेरैपल्ट ज्यानै जाने आक्रमणबाट फुत्किए । ह्विलचेयरमा बस्ने दाइफलाई हमासको हरेक योजनाको ‘मास्टरमाइन्ड’ मानिन्थ्यो ।
उनलाई प्यालेस्टाइनीहरूले ‘द क्याट विथ नाइन लाइभ्स’ भन्छन् । यो भनाइको सार कैयौँपल्ट गम्भीर चोट लाग्दा पनि उठेर हिँड्न सक्ने नौ जिन्दगी भएको बिरालोजस्तै हो ।
हाल हमासका कमान्डर रहेका उनी अक्सर आफ्नो म्यासेज रेकर्ड गरेर पठाउने गर्थे । त्यस्तो म्यासेजमा हमासका लडाकुले इजरायलीहरूको हत्या, अपहरण गरेको सन्देश हुने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: