Bagmati Samachar Logo

ब्राजिलमा विमान दुर्घटनामा ६१ जनाको मृत्यु, केहि विमान छुटेर बाँचे

साओ पाओलो । ब्राजिलको राजधानी साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए ।

विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्वीन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि गइरहेको थियो । तर विमान भिन्हेडो सहर नजिकै दुर्घटनामा परेको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एटीआर ७२–५०० विमान आकाशमा अनियन्त्रित भई घुमिरहेको र सिधै तल खसेको देखिन्छ । विमान खसेको वरपर धेरै घरहरू देखिएका छन् । तर, एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूको भनाई छ । जमिनमा कोही पनि घाइते भएनन्।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमान शुक्रबार बिहान ११स्५६ बजे कास्कभेलबाट उडेको थियो । डेढ घण्टापछि विमानको अन्तिम संकेत प्राप्त भएको थियो।

ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।

सन् २००७ पछि ब्राजिलमा भएको यो सबैभन्दा ठुलो विमान दुर्घटना हो । २००७ मा साओ पाउलोमा टीएएम एक्सप्रेस विमान दुर्घटनामा १ सय ९९ जनाको मृत्यु भएको थियो। एयरलाइन्स कम्पनी एटीआरले विमान दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ ।

ब्राजिलको नागरिक उड्डयन एजेन्सीले उक्त विमान सन् २०१० मा निर्माण भएको र राम्रो अवस्थामा रहेको बताएको छ ।

एजेन्सीका अनुसार विमान उड्नको लागि एकदम फिट थियो।

प्रत्यक्षदर्शीले के भने ?

आफ्नो अगाडि विमान दुर्घटना भएको देखेका फेलिफ मेगलेसले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘विमान खसेको आवाज सुनेपछि मैले झ्यालबाट बाहिर हेरेँ। मैले मेरो आँखा अगाडि विमान खसेको देखेँ।’

भिन्हेडो सहरमा बस्ने फेलिफले विमान खसेलगत्तै आफू घरबाट भागेको बताए । ‘म एकदम डराएको थिएँ । के गर्ने थाहा थिएन। डरले घरको पर्खालबाट हाम फालेर बाहिर भागेँ,’ उनले भने ।

दुर्घटनास्थल नजिकै बस्ने नताली सिसारीले खाना खाइरहेको बेला टाढाबाट ठुलो आवाज आएको बताइन् । यो आवाज आफूलाई पहिले ड्रोन उडेको जस्तो लागे पनि पछि निकै ठुलो आवाज आएको उनको भनाई थियो ।

उनले सीएनएन ब्राजिललाई भनिन्, ‘म लगत्तै बार्दलीमा कुदेर पुगेँ । मैले विमान आकाशमा तीव्र गतिमा घुमिरहेको र तल खसेको देखेँ।’

अर्को प्रत्यक्षदर्शी पितरोले रोयटर्सलाई त्यहाँ धेरै मानिसहरू भेला भएको र भिडियो बनाउन थालेको जानकारी दिए । ‘मैले विमानको भग्नावशेष देखेँ,’ उनले भने, ‘दुर्घटनास्थलमा यसको क्याबिन मात्रै बाँकी थियो ।’

जो जहाज छुटेर बाँचे

दुर्घटनाग्रस्त विमानको टिकट लिएका केही यात्रु विमान चढ्न छुटेको थिए । तीमध्ये एक एड्रियानो एसिस थिए।

उनले भने, ‘विमान कहिले उड्छ भन्नेबारे केही जानकारी थिएन । यो कुरा बताउन काउन्टरमा कोही थिएनन् ।’

पछि उनलाई अब विमानमा चढ्न नसक्ने भनियो । ‘त्यहाँ बसेका केही व्यक्तिहरूसँग मैले यस विषयमा बहस पनि गरेको थिएँ। म बाँचेकोमा भगवानलाई धन्यवाद दिन्छु।’

अर्का यात्रु जोस फेलिपले सुरुमा लाताम जाने टिकट बुकिङ गरेको बताए । तर लाताम विमानस्थल बन्द थियो ।

एयरपोर्ट पुग्दा उनको बोर्डिङ लिमिट सकिएको बताइयो । त्यहाँ बसेका अधिकारीसँग उनले पनि झगडा गरेको सुनाए । तर अधिकारीहरूले उनलाई विमानमा चढ्न दिएनन्।
उनले भने, ‘यो एउटा डरलाग्दो अनुभव हो । म अझै काँपिरहेको छु। यो क्षणको साक्षी म र भगवान् मात्र हौँ।’

हिन्दी बीबीसीबाट