Bagmati Samachar Logo

प्रधानन्यायाधीशमा राउत सिफारिस

काठमाडौं। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषदको बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

वरिष्ठताको हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उनले बताइन् । संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरूको नाममाथि छलफल भएको जनाइएको छ । पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंहको नाम सिफारिस गरिएको उपसभामुख रानाले बताइन् ।

यसअघि भदौ २३ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ जनाको नामसहितको रोष्टर संवैधानिक परिषदमा पठाएको थियो । न्याय परिषदले राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उप–सभामुख र विपक्षी दलको नेता सदस्य हुने गर्दछ ।

राउतको नाम संसदीय सुनुवाइका लागि संसदमा जाने छ । संसदीय सुनुवाइ समितिले सार्वजनिक उजुरी आह्वान गर्दै सुनुवाइ गर्ने छ । उक्त सुनुवाइबाट अनुमोदन भए राउतलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । राउत २०८२ चैत १८ गते अवकाश हुने छन् । उनीपछि सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल हुँदै नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गाना प्रधानन्यायाधीश हुने रोल क्रममा छन् ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ गतेदेखि अवकाशमा जाँदैछन् ।