Bagmati Samachar Logo

प्रतिनिधि सभाको चौथो अधिवेशन : यी हुन् १० भन्दा धेरै बैठकमा अनुपस्थित हुने १३ सांसद

काठमाडौं । प्रतिनिधि सभा २०७९ को चौथो अधिवेशन सोमबार रातीबाट अन्त्य भएको छ। प्रतिनिधि सभाको यो अधिवेशन २०८१ साल वैशाख २८ गते मंगलबार सुरु भई आज २०८१ साल भदौ ३१ गते सोमबारसम्म जम्मा १३० दिन चालु रह्यो।

जसमध्ये ५३ दिनहरूमा ५६ पटक बैठक बसी जम्मा २०६ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा व्यतित भएको संसद सचिवालयले जानकारी दिएको छ।

साथै यस अवधिमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक दुईपटक बसेको छ।प्रतिनिधि सभाले यो अधिवेशनमा १० भन्दा धेरै बैठकमा अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेको छ। जसमा १३ जना सांसद रहेका छन्।

तेस्रो अधिवेशनमा अनुपस्थित भएका तर अघिल्लो पटक नाम सार्वजनिक गर्न छुटेका एकजना सांसदको नाम पनि संसदले अहिले सार्वजनिक गरेको छ।

यस अधिवेशनमा ५६ वटा बैठक बस्दा ४ जना सांसद ५६ वटै बैठकमा अनुपस्थित भएका छन्। सांसदहरू मनोरमा शेरचन, अम्बिका बस्नेत, वसन्त कुमार नेम्वाङ र दिपक बोहोरा ५६ वटै बैठकमा अनुपस्थित भएका हुन्।

मस्तिष्कघातको उपचारका लागि भारतमा रहेकाले एमाले सांसद नेम्वाङ बैठकमा उपस्थित हुन नसकेका हुन्। यस्तै, बोहोरा र बस्नेतले पनि उपचारमा रहेकाले बैठकमा उपस्थित हुन नसकेको संसदलाई जानकारी गराएका छन्। थेरापी चलिरहेकोले संसद बैठकमा उपस्थित हुन नसकेको शेरचनले जानकारी गराएकी छन्।

राप्रपा सांसद गीता बस्नेत ४७ वटा बैठकमा अनुपस्थित भएकी छन्। बस्नेतले बैठकमा उपस्थित हुन नसक्नुको कारणमा स्वास्थ्य उपचारमा रहेको उल्लेख गरेकी छन्।

एमाले सांसद कालुराम राई १८ वटा बैठकमा अनुपस्थित भए। सडक दुर्घटनामा परी देब्रे कुरकुच्चा फ्याक्चर भई उपचाररत रहेकाले बैठकमा उपस्थित हुन नसकेको राईले बताएका छन्।

कांग्रेस सांसद प्रकाशमान सिंह १७, नारायण खड्का १६, कान्तिका सेजुवाल १५ र एमाले सांसद गोकर्ण विष्ट १२ वटा बैठकमा अनुपस्थित भए।

सिंह उपचारका लागि भारत गएको, खड्का अमेरिका र युरोपको विभिन्न कार्यक्रममा सहभागी हुन गएको, सेजुवाल ‘सोसियल डेमोक्रेटिक पार्टी अफ डेनमार्क’को आयोजनामा हुने ‘जेन्डर लर्निङ एक्सचेन्ज प्रोग्राम’मा सहभागिता जनाउन गएकाले तथा विष्ट संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएकाले बैठकमा अनुपस्थित भएका हुन्।

११ वटा बैठकमा अनुपस्थित भएका सांसद सुनिल कुमार शर्माले बैठकमा उपस्थित हुन नसक्नुको कारणमा देश बाहिर रहेको उल्लेख गरेका छन्।

१० वटा बैठकमा अनुपस्थित भएका सांसद २ जना रहेका छन्। स्याङ्जा १ बाट ९नेपाली कांग्रेस० प्रतिनिधि सभा सदस्य राजु थापा गृह जिल्लामा विभिन्न कार्यक्रममा सहभागी हुन जाँदा १० वटा बैठकमा अनुपस्थित भए।

यसैगरी, कञ्चनपुर २ बाट (नेपाली कांग्रेस) प्रतिनिधि सभा सदस्य नारायण प्रकाश साउद विशेष कारण भन्दै १० वटा बैठकमा अनुपस्थित भएका छन्।

प्रतिनिधि सभा २०७९ को तेस्रो अधिवेशनमा १० वटा बैठकमा अनुपस्थित भएका ललितपुर २ बाट (नेकपा एमाले) प्रतिनिधि सभा सदस्य प्रेम बहादुर महर्जनको नाम पनि सचिवालयले सार्वजनिक गरेको छ।

छोराको स्वास्थ्य उपचारका लागि भारत गएकाले बैठकमा अनुपस्थित भएको महर्जनले बताएका छन्। अघिल्लो पटक उनको नाम सार्वजनिक गर्न छुटेकाले (निवेदन नआएका कारण) अहिले सार्वजनिक गरिएको संसद सचिवालयले जानकारी दिएको छ।