Bagmati Samachar Logo

इरानले फेरि हान्यो इजरायलमाथि ब्यालिस्टिक मिसाइल, कडा जवाफ दिने इजरायलको प्रतिक्रिया

काठमाडौं । इरानले इजरायलमाथि ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ । यसअघि गत १९ अप्रिलमा इरानले पहिलोपल्ट इजरायलमाथि झण्डै डेढ सय मिसाइल, ड्रोनबाट हमला गरेको थियो । यद्यपि, त्यसले इजरायललाई धेरै क्षति पु¥याएन । पछिल्लो आक्रमण त्योभन्दा ठूलो भएको विभिन्न सञ्चार माध्यमले बताइएका छन् । लेबनानमा इजरायली आक्रमणसँगै हमास, हिजबुल्लाह र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआजीसी) का नेताहरूको हत्याको जवाफ दिएको इरानले जनाएको छ ।

बीबीसीका अनुसार, मंगलबार अबेर रात इजरायलतर्फ इरानले सयौं मिसाइल प्रहार गरेको हो । यसमध्ये केही मिसाइल इजरायली क्षेत्रमा खसेका छन् । इजरायली टीभीमा देखाइएको फुटेजमा स्थानीय समयानुसार साँझ ७ः४५ बजेतिर तेल अभिव र आसपासको क्षेत्रमाथि मिसाइल उड्दै गरेको देखिएको थियो ।

आक्रमणमा कति क्षति भयो भन्नेबारे एकिन विवरण खुलाइएको छैन । इजरायली सेनाका अधिकारीका अनुसार, अहिले इरानी मिसाइल आउने क्रम रोकिएको छ भने कुनै खतरा देखिएको छैन । इजरायली विदेश मन्त्रालयले ट्विट गरेर मंगलबार राति १ सय ८१ ब्यालिस्टिक मिसाइलले आक्रमण भएको र यसमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु भएको बताएको छ । इजरायलले यसको एक भिडियो पनि पोस्ट गरेको छ, जसमा सडकमा हिँडिरहेका एक व्यक्ति आक्रमणको चपेटामा आउँछन् । उक्त भिडियो इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंकको भएको बताइएको छ ।

इजरायलले इरानी सत्तालाई खतरनाक भन्दै यो वैश्विक शान्तिका लागि चुनौती भएको बताएको छ । गत अप्रिलको तुलनामा यो आक्रमण केही ठूलो थियो । ५ महिनापहिले इरानले इजरायलमाथि १ सय १० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइल दागेको थियो । इरानी आक्रमणबारे प्रतिक्रिया दिँदै इजरायलले कडा जवाफ दिने बताएको छ । गत अप्रिलमा पनि इरानलाई जवाफ दिँदै इजरायलले इरानी भूमिमा ड्रोन आक्रमण गरेको थियो ।