Bagmati Samachar Logo

 हामी नेपाल खत्तमै भयो भन्छौँ, त्यो होइन रहेछ  : परराष्ट्रमन्त्री आरजू  

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा स्वदेश फर्केकी छिन् । मन्त्री राणा अमेरिकालगायतका देशको भ्रमण गरेर शुक्रबार स्वदेश फर्केकी हुन् । उनले नेपाल नेपालीहरूले सोचेजस्तो विदेशमा नभएको जिकिर गरेकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै विदेशीको नजरमा पनि हामी राम्रै स्थितिमा रहेको पाएको उनले बताइन् ।

उनले भनिन्, ‘हामी नेपालको स्थिति खत्तमै हो भनेर भन्छौँ तर, त्यस्तो होइन रहेछ । संयुक्त राष्ट्रसङ्घको जुन दीगो विकासको लक्ष्य छ, त्यसमा हामीले ४७ प्रतिशत लक्ष्य हासिल गरिसकेका रहेछौँ । हामीभन्दा राम्रो देशहरू १७ प्रतिशत मात्रै रहेछन् । बाँकी देशभन्दा हामी राम्रै स्थितिमा छौँ ।’

फरक प्रसङ्गमा उनले संयुक्त राष्ट्रसङ्घको अर्को महासचिव महिला हुनुपर्ने बताएकी छन् । १५ देशका परराष्ट्रमन्त्रीहरूको बैठकले यो कुरा पारितसमेत गरेको उनले बताइन् ।

‘हामी १५ देशका महिला परराष्ट्रमन्त्रीहरूको बैठक बसेको थियो । त्यहाँ मैले नेपालको बारेमा कुराकानी राखेँ, विमर्श राखेँ । त्यस क्रममा संयुक्त राष्ट्रसङ्घको अर्को महासचिव महिला हुनुपर्छ भनेर माग राख्यौँ । त्यो राष्ट्रसङ्घ पनि पुगिसकेको छ, उनले भनिन् ।