Bagmati Samachar Logo

एभरेष्ट महिला भलिबल लिगको फाइनलका लागि कर्णाली र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ को उपाधिका लागि कर्णाली यस्विस र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुनेछ ।
आजको कर्णाली र ललितपुरबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५.३० बजे सुरु हुनेछ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा नेपाली भलिबलको इतिहासमै पहिलो पटक भएको फ्रेन्चाइल लिगमा ६ टोलीले सहभागिता जनाएका थिए । सिंगल राउण्ड रोविनका आधारमा भएको लिग चरणको खेलपछि कर्णाली र ललितपुर फाइनल पुगेका छन् ।

लिग चरणमा अपराजित एक्लो टिम कर्णालीले सबै ५ खेल जित्दै १३ अंक जोडेर शीर्ष स्थानमा पुगेको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३.१ को सेटमा हराएपछि ललितपुर क्विन्स भाग्यमानी बन्यो । कोर्टमा नउत्रिए पनि ललिपुर दोस्रो हुँदै फाइनल पुग्यो । ललितपुर र काठमाडौंले समान ३ खेल जिते । तर ललितपुरले १ अंक बढी जोडेर फाइनल पुगेको हो । ललितपुरले गण्डकी थण्डर्स विरुद्धको खेल पाँच सेटमा हार्दा १ अंक जोडेको थियो र त्यो फाइदा हुन पुग्यो ।

लिग चरणमा कर्णाली र ललितपुर दुवैले उत्कृष्ट सुरुवात गर्दै त्यसलाई अन्तिमसम्म कायम राखे ।
अब त्यही अपराजित कर्णालीसँग ललितपुर भिड्ने छ । कर्णाली आफ्नो अपराजित यात्रालाई फाइनल खेलमा पनि निरन्तरता दिँदा अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ ।

यदी दुई टोली लिग चरणमा भिड्दा कर्णालीले ललितपुरलाई सोझो सेटमा हराएको थियो । थाइयाण्डका एक खेलाडी घाइते हुनु र पुनम चन्द विरामी पर्दा केही कमजोर बनेको ललितपुरलाई कर्णालीले सहजै हराएको थियो ।

अब फाइनल कर्णालीले लय कायम राख्ला वा ललितपुरले बदला लिन्छ त्यो हेर्न बाँकी छ ।