Bagmati Samachar Logo

सिन्धुपाल्चोकका अन्य स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरियोस् : माधव सापकोटा

काठमाडौँ । सरकारले भोटेकोशी गाउँपालिकालाई मात्र ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेकोमा सिन्धुपाल्चोक जिल्लाका जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी पहिरो प्रभावित १२ जिल्लाका ४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । जसमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई मात्र संकटग्रस्त स्थानीय तहमा समावेश गरेको थियो ।

तर सरकारले कुनै परामर्श नगरी हचुवाको भरमा संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा सिन्धुपाल्चोकका विपक्षी सांसदले आपत्ति जनाएका हुन् । उनीहरूले असोज १९ गते प्रमुख जिल्ला अधिकारीमार्फत बाँकी स्थानीय तहलाई पनि विपद् संकटग्रस्त क्षेत्रमा समावेश गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

‘असोज ११ र १२ गतेको भारी वर्षा, बाढी र पहिरोमा परी सिन्धुपाल्चोकका लिसंखु पाखर, सुनकोशी र जुगल गाउँपालिकामा मानवीयसहित ठुलो भौतिक क्षति भएको छ । बलेफी, चौतारा साँगाचोकगढी, पाँचपोखरी थाङ्पाल र बाह्रबिसेमा ठुलो भौतिक क्षति भएको छ । मेलम्ची र हेलम्बु विपद्बाट गुज्रिरहेका छन् । अरनिको लोकमार्गसहितका सहायक राष्ट्रिय लोकमार्गहरु छियाछिया भएका छन् । किसानका धान बगेका र पुरिएका छन् । पहिरो र नदी कटानले स्थानीय बासिन्दालाई त्राहिमाम बनाएको छ । यस्तो अवस्थामा सिन्धुपाल्चोकका सन्दर्भमा गरिएको विपद् संकटग्रस्त क्षेत्र घोषणा अपूर्ण र विना तयारी गरिएको देखिन्छ’, ध्यानाकर्षण पत्रमा भनिएको थियो ।

ध्यानाकर्षण पत्र बुझाउनेमा नेकपा माओवादी केन्द्रबाट संघीय र प्रदेशसभा सांसद माधव सापकोटा, युवराज दुलाल, सरल सहयात्री पौडेल, अमृता नेपाल प्रभा रहेका थिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की प्रदेशसभा सांसद कुमारी तामाङ पनि छिन् ।

तर सरकारले यसबारे अहिलेसम्म सुनुवाइ नगरेकोमा संघीय सांसद सापकोटाले असन्तुष्टि जनाएका छन् ।

सापकोटाले भने, ‘सरकारले सिन्धुपाल्चोकको भोटेकोशी पालिकामात्र संकटग्रस्त घोषणा गरेको छ । त्यो संकटग्रस्तमा पर्नुपर्ने हो, स्वाभाविक छ । तर संकटमा परेका अन्य स्थानीय तहहरू परेका छैनन् । सरकारले पर्याप्त परामर्श र तयारीबिना हचुवाका आधारमा गरेको छ ।’