Bagmati Samachar Logo

एमालेले भाटभटेनीका व्यापारीलाई पार्टी कार्यालय बनाउन दिएर २८ लाख मतदाताको अपमान गर्यो : विन्दा पाण्डे

काठमाडौँ । नेकपा एमालेमा व्यापारी मीनबहादुर गुरुङले दानमा दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णयको विरोध सुरु भएको छ । एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारी गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने पार्टीनिर्णयको विरोध मात्र गरेकी छैनन् । पार्टीको यो निर्णयले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको भन्दै विरोध गरेकी छिन् ।
उनले पार्टीले यो गलत निर्णय तत्काल सच्चाउन आग्रह गरेकी छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि किर्तिपर नगरपालिका २मा पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए । उक्त भवन भाटभटेनी सुपरस्टोरका मीनबहादुर गुरूङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा महासचिव शंकर पोखरेलपनि, गुरूङ दम्पत्ति पनि सहभागी थिए ।

सत्तारुढ दलकै भवन व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा बनाउने निर्णयबारे एमाले भित्र भित्रै विरोध हुन थालेको छ। नेता पाण्डेले भने सोमबार सामाजिक सञ्जाल फेसबुकबाट विरोध गदै आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

उनले भनेकि छिन्, ‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो ।’

उनले भनेकि छिन्, ‘व्यापार व्वसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुने ।’

उनले अहिले पनि समय नघर्किएकाले निर्णय सच्याउन अनुरोध गरेकी छन् । उनले भनेकि छिन्, ‘समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनैपर्छ । समयमै सोचौं । ’

एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन् । एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुरमा पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।