Bagmati Samachar Logo

पार्टी कार्यालय बनाउन जग्गा दान लिनु अनुचित होइन : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनवहादुर गुरुङले दान दिएको कीर्तिपुरको जग्गा स्वीकार गर्नु अनुचित नभएको बताएको छ ।

आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले दानमा दिएको जग्गा पार्टीले लिनुमा कुनै गलत नभएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

महासचिव पोखरेलले एमालेलाई दान दिएको जग्गा र व्यवसायी गुरुङबिच कुनै स्वार्थ बाझिने कारण समेत नभएको बताए ।

उनले भने, ‘राज्यले मात्र होइन अन्तर्राष्ट्रिय समुदायले समेत विपत्तिमा भएको क्षतिलाई पूर्ति गर्ने काम गरिरहँदाखेरी एकजना व्यवसायीले म नेकपा एमालेले बेहोरेको क्षतिका सन्दर्भमा गम्भीर छु र सहयोग गर्न चाहन्छु भन्ने कुरालाई मानवीयताका हिसाबले पनि लिनुपर्छ भन्ने लाग्दछ ।’

उनले महाविपत्तिका बेला भएको क्षतिमा सहयोग प्राप्त गर्ने हक हरेकको हुने भन्दै त्यो हक नेकपा एमालेको पनि छ भन्ने कुरा बुझ्नुपर्ने बताए । उनले भने, ‘त्यस अर्थमा एमालेले यो सहयोग प्राप्त गर्ने कुरा कुनै अवाञ्छित अनुचित कुरा होइन । विपतका बेला संकटमा परेकाहरूलाई सहयोग गर्ने कुरा राज्यको दायित्वको कुरा हो । राज्यकै कुनै एक नागरिकले क्षतिमा सहयोग गर्ने सन्दर्भलाई स्वभविक रूपमा लिनुपर्दछ ।’
असोज २५ गते गुरुङले दान दिएको जग्गामा एमालेले पार्टी कार्यालय बनाउन शिल्यान्यास गरेको थियो । दशैँको मुखैमा अदालतमा विचाराधिन मुद्दा रहेका व्यपारीबाट जग्गा दानमा लिएपछि पार्टी भित्र सामान्य र बाहिर चौतर्फि रुपमा एमालेको विरोध हुदै आएको छ ।