प्रधानमन्त्री साना दललाई टुक्रयाउने र आफ्नो दलमा जोड्ने खेलमा छन् : कोइराला
काठमाडौँ । नेपाली कांग्रेस नेता शेखर कोइरालाले सरकारले दलसम्बन्धी विधेयक ल्याउने प्रयास मुलुकको लोकतन्त्रका लागि राम्रो नभएको बताएका छन् । सरकारको नेतृत्व गरीरहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर साना दलहरुलाई विभाजन गर्ने खेलमा लागेको बताएका छन् । कोइरालाले आइतबार गृहनगर विराटनगरमा भएको छलफलमा बोल्दै भने, ‘प्रधानमन्त्री केपी ओली केही साना दललाई टुक्रयाउने र आफ्नो दलमा जोड्ने खेल गरिरहनु भएको छ । यसैको लागि दलसम्बन्धी ऐन ल्याउन खोजिँदै छ। एमालेले स्थायित्वका लागि भने पनि यो ऐन ल्याउँदा झन अस्थिरता हुने देखिन्छ । धेरै प्रतिशत राखिँदा दलहरु कम हुन्छन्। साना पार्टी पनि अन्यमा मिसिने छन्। कुनै एक दल ठूलो हुने र एकांकी हुने हुँदा सतर्क रहन आवश्यक छ।’
नेता कोइरालाले केही साना पार्टीलाई फुटाउने र एमालेमा मिसाउने शंका रहेको कुरा उल्लेख गरे।
सो अवसरमा बोल्दै उनले संविधानको स्पिरिट र मुलुकको लोकतन्त्रका लागि पनि दलसम्बन्धी ऐन गलत भएको बताए । दलसम्बन्धी ऐन ल्याएर एमाले ठूलो पार्टी बन्ने दाउमा रहेको उनको आशंका थियो ।
‘म यसै हो भन्न सक्दिनँ। तर सञ्चार क्षेत्रमा आएको कुरा हेर्ने हो भने एमालेले ल्याउन प्रयास गरिरहेको दलसम्बन्धी ऐन कुनै पनि हालतमा हाम्रो मुलुकको स्थिरताका लागि लाभदायक छैन,’ उनले भने ।
नेता कोइरालाले हालको गठबन्धनले मुलुकमा सुशासन, स्थिरता र जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए । राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि गठबन्धन भएको तर, दलसम्बन्धी विधेयकले कतै प्रश्नचिन्ह खडा गरिदिएको उनको भनाइ थियो ।
साथै उनले कुलमान घिसिङ र उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन खोजेकोप्रति असन्तुष्टि व्यक्त गरका कोइरालाले रास्वपाका सभापति रवि लामिछाने सहकारी प्रकरणमा प्रत्यक्ष संलग्न भएको बताउँदै कानुनी प्रक्रिया अघि बढेको बताए।
प्रतिक्रिया दिनुहोस्: