Bagmati Samachar Logo

सरकार ढाल्ने प्रयास हुँदैछ, सजग रहनुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

आइतबार साँझ पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको एमाले सचिवालय बैठकमा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बारेमा ब्रिफिङ गरेका थिए।

बैठकमा ओलीले राष्ट्रिय राजनीति पेचिलो बन्दै गएको बताएका एक सचिवालय सदस्यले बताए ।

ती सदस्यका अनुसार ओलीले परिस्थिति निकै प्रतिकूल हुँदै गएकोले नेताहरूलाई सचेत समेत गराएका छन्।

‘परिस्थिति प्रतिकूल हुँदै गएको छ, सबैतिरबाट आक्रमण तीव्र पारेका छन्,’ बैठकमा ओलीको ब्रिफिङ उधृत गर्दै ती पदाधिकारीले भने, ‘राष्ट्रिय राजनीति अप्ठेरो छ। विभिन्न शक्तिकेन्द्रहरू लागिरहेका छन्।’

‘समग्रमा राष्ट्रिय राजनीतिको पछिल्लो अवस्थाबारे सचिवालय सदस्यलाई अध्यक्षले जानकारी गराउनुभयो,’ उनले थपे।

तर, सत्ताको प्रमुख घटक नेपाली कांग्रेससँगको सम्बन्ध सुमधुर रहेको प्रधानमन्त्री ओलीले प्रष्ट पारेको ती नेता बताउँछन्।

‘कांग्रेससँगको सम्बन्धमा अहिले तलमाथि छैन, तर, सत्ताका विरुद्ध एकाथरी लागिरहेका छन्, यो गम्भीर विषय हो, यसमा सजग हुनैपर्छ,’ ओलीले बैठकमा भने।

सरकारलाई चारैतिरबाट घेराबन्दी गरेर असफल पार्न खोजिएको ओलीको भनाइ छ।

‘स्थिति गम्भीर छ, पार्टीभित्रको आन्तरिक पंक्ति पनि अराजक हुँदै गयो,’ ओलीले बैठकमा राखेको भनाइ उधृत गर्दै ती नेताले भने।