Bagmati Samachar Logo

रविलाई छुटाइदिन आग्रह गर्दै बालुवाटार पुगेका डीपी अर्याललाई ओलीको जवाफ : ही गर्न सकिँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभापति रवि लामिछानेको मुद्दामा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका थिए ।
उपसभापति अर्यालले आइतबार सभापति लामिछानेको रिहाइको लागि वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
स्रोतका अनुसार अर्यालले दुई दिनअघि प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । साँझ प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका अर्यालले रविलाई छुटाउने वातावरण बनाइदिन आग्रह गरेका थिए । स्रोतका अनुसार अर्यालले प्रधानमन्त्री ओलीसँग ‘तपाईंले नै हुकाईदिएको पार्टी हो, भोलिका दिनमा तपाईंले भनेअनुसार नै हुन्छ, अहिले रविलाई छुट्ने वातावरण मिलाइदिनुपर्‍यो’ भन्दै आग्रह गरेका थिए । प्रधानमन्त्री ओली भने त्यतिबेला सकारात्मक सुनिएनन् ।
अर्यालको आग्रहमा ओलीले तत्काल केही गर्न नसकिने जवाफ दिएका थिए । स्रोतका अनुसार ओलीले ‘अहिले मुद्दा फिर्ता लिने अवस्था पनि छैन, मुद्दा अदालती प्रक्रियामा प्रवेश गरिसकेकोले केही गर्न सकिँदैन’ भनेर जवाफ दिएका थिए ।

उपसभापति अर्याल दिउँसो सडकमा लामिछानेको बचाउ र सरकारको विरोधमा आन्दोलन गर्ने र साँझ भने सरकारी अधिकारीलाई भेट गरिरहेका छन् ।

रास्वपाका शीर्ष नेताहरू भने लामिछानेलाई रिहाइ गरिदिन आग्रह गर्दै नेताहरू भेटिरहेको स्रोतको दाबी छ ।

अर्यालले ओलीसँग मात्र होइन, गृहमन्त्री रमेश लेखकसँग पनि भेटेका थिए । उपसभापति अर्यालले सोमबार साँझ गृहमन्त्री लेखकसँग भेट गरेर लामिछानेको मुद्दाको विषयमा छलफल गरेका थिए । मन्त्रालयमा नै भएको भेटमा लामिछानेलाई छुटाउने वातावरणका लागि आग्रह गरेका थिए । अर्यालले लेखकलाई भेट्नुअघि प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

प्रधानमन्त्री ओलीसँग रास्वपा नेताहरुको भेटबारे एमाले केन्द्रीय सदस्य विष्णु रिजालले दिनभर व्यक्तिगत रुपमा गालीगलौज गरेर राती–राती कुन मुखले हारगुहार गर्न सकेकोभन्दै टिप्पणी गरेका छन् ।

‘दिनभरि प्रधानमन्त्रीका विरूध्दमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाहसॉस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्‍यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् रु’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेजस्तो उहाँले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।’