Bagmati Samachar Logo

घटनाको २० वर्षपछि मनाङेको मुद्दामा सर्वोच्चको फैसला, सांसद पद के होला ?

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य दीपक मनाङेलाई ५ वर्षको जेल सजाय हुने फैसला सदर गरेपछि अब उनको सांसद पद के हुन्छ भन्नेमा चासो बढेको छ । कानुनका जानकारहरूले मनाङेको सांसद पद निलम्बन हुने बताएका छन् ।

यद्यपि कैद भुक्तान गरिसकेपछि उनी राजनीतिमा फर्किने बाटो भने बन्द हुने छैन । वरिष्ठ अधिवक्ता शालिग्राम सापकोटाले ज्यान मार्ने उद्योगमा दोषी ठहर भएर जेल सजाय सुनाइएकाले अब मनाङेको सांसद पद निलम्बन हुने बताए ।

यद्पि कैद भुक्तान गरिसकेपछि मनाङे राजनीतिमा फर्किन सक्ने उनले बताए । ‘मनाङेको सांसद पद अहिले निलम्बन हुन्छ । तर, उहाँ कैद भुक्तान गरेर राजनीतिमा फर्किन सक्नुहुन्छ,’ सापकोटाले भने ।

यसबारे गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले भने कानुन व्यवसायीसँग परामर्श गरेर निर्णय लिने बताएका छन् । ‘अदालतको एउटा फैसला आएको छ । अब निलम्बनलगायतका विषयमा कानुनविद्सँग परामर्श गर्छु, उनले भने ।

गुण्डा नाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङे दोषी ठहर भएका हुन् । मनाङेलाई यसअघि उच्च अदालत पाटनले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय हुने फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध उनी सर्वोच्च गएका थिए । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङे दोषी ठहर हुने फैसला सदर गरेको हो ।

२०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा मनाङेसहित उनको समूहका युवाहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । घटना भएको २० वर्षपछि सर्वोच्चले यो मुद्दामा फैसला सुनाएको हो । यसबीचमा मनाङे राजनीतिमा प्रवेश गरी पटक–पटक मन्त्री भइसकेका छन् ।