रास्वपाले दोस्रो चरणको आन्दोलन सशक्त गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलन सशक्त गर्ने निर्णय गरेछ ।
मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको हो।
यसबीचमा रास्वपाले पक्राउको विरोधमा आन्दोलन गर्दै आएको थियो।
रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको दाबी गर्दै आएको छ।
‘सभापति रवि लामिछानेविरूद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै रास्वपा यस कार्यको घोर भ्रर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ।’
प्रतिक्रिया दिनुहोस्: