Bagmati Samachar Logo

दीपक मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौं । ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व प्रदेशमन्त्री राजीव गुरुङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन्।

मंगलबार काठमाडौँको सानो भ¥याङबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। लगत्तै अदालतले उनलाई डिल्लीबजार कारागार पठाएको हो।

मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको थियो। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो।

मनाङेले यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने प्रहरी बताउछन् ।

तर, जिल्ला अदालतले भने विस्तृत कैदी पुर्जी पछि दिने गरी अहिले कारागार पठाएको बताएको छ।

पहिला भुक्तान भएको कटाएर बाँकी बेरूजु कैद असुल गर्नुपर्छ। त्यो हिसाब गरेर पछि विस्तृत कैदी पुर्जी दिने गरी अहिले डिल्लीबजार कारागार पठाएको छ ।