धनराज गुरुङसँग सीआईबीले लियो ५ घण्टा बयान
काठमाडौं । कांग्रेस उपसभापति धनराज गुरुङसँग सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । सीआइबीले बुधबार झण्डै पाँच घण्टासम्म बयान लिएको थियो । बयानको क्रममा गुरुङले आफूमाथि लागेका आरोपहरू निराधार रहेको जिकिर गरेका छन् । उनले अनुसन्धानमा सघाउने प्रतिबद्धता समेत जनाएका छन् ।
मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्वश्रीमती ज्योति जोडिएकाले धनराज पनि विवादमा तानिएका थिए । कतिपयले धनराज र ज्योतिबीच नक्कली डिभोर्स भएको आरोप पनि लगाउने गरेका छन् । तर गुरुङले आफ्नो डिभोर्स नक्कली नरहेको बयान सीआईबीमा दिएका छन् ।
ज्योति मितेरी सहकारीको सञ्चालक थिइन् । सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा ऋण तिरिरहेको पाइएपछि उनको भूमिकालाई शंकास्पद मानिएको थियो ।
सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन’ सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: