रविले बुटवलको सुप्रिम सहकारीको रकम ठगीमा आफू सहभागी नभएको बयान दिए
काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछानेले दुई दिन दिएको दिएको बयानमा निर्दोष रहेको जिकिर गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लामिछानेको बयान लिने क्रम जारी रहेको छ । उनले सहकारी सम्बन्धी सङ्गठित रूपमा रकम हिनामिनामा गरेको आरोप लागेको छ । तर उनले आफ्नो संलग्नता नरहेको भन्दै बचाउ गरेका छन् ।
लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबार र बुधबार बयान लिएको छ । रविको बयान नसकिएकाले बिहीबार (भोलि) पनि जारी रहने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
जिल्ला सहकारी वकिलको कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले दुई दिन बयान लिइए पनि अझै पूर्ण नभएकाले भोलि पनि बयान लिने लाई बताए ।
रविलाई आज जिल्ला प्रहरी कार्यालय रुपन्देहीमै राखिने एसपी रञ्जित सिंह राठौरले बताए । मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग हिजोदेखि नै बयान लिन सुरु गरिएको हो ।
रवि लामिछानेलाई आज बिहान १० बजेर १० मिनेट जाँदा बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको थियो । उनलाई साँझ ७ बजेसम्म बयान लिएर जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको विषयमा सङ्गठित ठगी गरेको आरोप लागेका रविले सहकारीको रकम लैजान आफ्नो कुनै भूमिका नरहेको बताएका छन्। स्रोतका अनुसार सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा कसरी पुग्यो भन्नेबारे सोधिएको प्रश्नमा रविले यसबारे सम्पूर्ण काम जीबी राईले गरेकाले आफूलाई जानकारी नरहेको बताएका छन् ।
‘कुन–कुन सहकारीबाट पैसा लिएको छ, त्यो हेर्ने काम मेरो नभएर जीबीका भएको रविले बयान दिएका बताइएको छ ।
स्रोतका अनुसार आफूले पैसा लैजान कतै हस्ताक्षर नगरेको, ऋण नमागेको र कुनै निवेदन समेत नदिएको जिकिर गर्दै रविले सहकारीको रकम हिनामिनामा आफ्नो कसरी संलग्नता हुन्छ भन्दै बयानका क्रममा प्रतिप्रश्नसमेत गरेका छन् ।
रविको बयान भोलि सकेर कास्की प्रहरीसमक्ष फिर्ता पठाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: