Bagmati Samachar Logo

टुप्पोबाट पलाएकाहरूले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गदै नयाँ पुस्ताका नाममा टुप्पोबाट पलाएकाहरू भन्दै टिप्पणी गरेका छन् । नयाँहरुले तथ्यहीन आधारमा गाली गरेको नसुहाउने ओलीले बताए । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । उनले भने,‘न्यायालयको कामलाई दबाब र झुठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन ।’

संविधान कार्यान्वयनको दश वर्ष पुगेपछि समीक्षा र मूल्याकंन हुने बताएका छन् । लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताका मूल मर्ममा तलमाथि नहुने पनि स्पष्ट पारे ।

मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्ता समीकरण बनेकाले यसलाई सार्थक बनाउने बताउँदै उनले कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य भएको बताए ।

अब एक वर्ष आठ महिनापछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले दोहोर्‍याए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका क्रममा हिरासतमा लिइएको सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेकाले दोष र निर्दोषको फैसला अदालतले गर्ने बताए ।
‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ भनेको छुु । हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौँ । देश ब्याक गेयर लगाएर पछाडि फर्कन सक्दैन ।’