Bagmati Samachar Logo

आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलोपटक हो ।

नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल उद्घाटन गरेसँगै आज नेपालको बिजुली बंगलादेश निर्यात हुने भएको हो । आज दिउँसो पौने १ बजे संयुक्त रूपमा तीन देशका मन्त्रीले भर्चुअल उद्घाटन गरसँगै नेपालको बिजुली बंगलादेश निर्यात हुन सुरु हुनेछ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको बताउँछन् । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले मध्याह्न निर्यात गर्नेछ ।

विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ मा नेपाल, भारत र बंगलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत् बङ्गलादेश निर्यात गरिनेछ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ । सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बङ्गलादेश पुर्‍याउनेछ ।

सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बंगलादेश पुग्नेछ । प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गरिने जनाएको छ ।

प्रवक्ता घोषका अनुसार प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेश पठाउनेछ । बंगलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।

सरकारले सन् २०३५ सम्म तय गरेको कार्ययोजनामा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र १५ हजार मेगावाट भारत र बंगलादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको छ ।