Bagmati Samachar Logo

ग्रामथान पालिका अध्यक्षमा १६ जनाको उम्मेदवारी, एमालेबाट बागी उम्मेदवार

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा १६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत रामराज पौडेलका मंसिर १६ गते हुन लागेको यस उपनिर्वाचनका लागि राजनीतिक दलबाट १५ जना र एक जना स्वतन्त्र उम्मेदवार छन् ।

अध्यक्षको लागि ठूला दलहरू नेपाली कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुलसीराम विश्वास र माओवादी केन्द्रबाट नमोनारायण माझी उम्मेदवार छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार चौधरी विश्वास, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरीले पनि उम्मेदवारी दिएका छन् ।

नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी र जनमत पार्टीबाट विनोदकुमार माझीको पनि उम्मेदवारी परेको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा र राप्रपा नेपालबाट राजु मुसहरले समेत मनोनयन दर्ता गराएका छन् । जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीको पनि उम्मेदवारी परेको छ ।

एमालेबाट टिकट नपाएका नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेमा ११ जना आकांक्षी रहेकोमा पार्टीले तुलसीराम विश्वासलाई टिकट दिएपछि चौधरीले बागी उम्मेदवारी दिएका हुन् । चौधरीको बागी उम्मेदवारीले एमालेलाई धक्का दिनसक्ने चर्चा छ ।

ग्रामथान गाउँपालिकामा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको गत असार ३ गते निधन भएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन हुन लागेको हो ।