Bagmati Samachar Logo

कीर्तिपुर नागरपालिकामा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार

काठमाडौं । आसन्न उपनिर्वाचनका कीर्तिपुर नगरपालिका प्रमुख पदमा २० जनाको उम्मेदवारी परेको छ । कीर्तिपुरस्थित निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार उम्मेदवारी दर्ता गर्न तोकिएको अन्तिम समय साँझ ५ बजेसम्ममा प्रमुख दलसहित आठ पार्टी र १२ जना स्वतन्त्रसमेत गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख पदमा सत्तारूढ नेपाली कांग्रेसबाट कृष्णमान डङ्गोल,एमालेबाट पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रा.डा. शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्जिनियर ध्रुव महर्जन, जनमत पार्टीका केशव श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका दीपक महर्जन, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, नेकपा एकीकृत समाजवादीका भानु रिजालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

स्वन्त्रतर्फ एक जना यौनिक अल्पसङ्ख्यकसहित १२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा नवरथ बानियाँ, राजमान महर्जन, दिनेशकुमार अधिकारी, आनन्द महर्जन, कविकुमार महर्जन, नरेशराज पाण्डे, नरेश श्रेष्ठ, मीम महर्जन, दीपक महर्जन, रामकृष्ण महर्जन, प्रेमकुमार महर्जन र धर्मराज मानन्धर छन् ।

यहाँ गत स्थानीय निर्वाचनमा निर्वाचित प्रमुख राजकुमार नकर्मीको गत साउन १० गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो । ठूला प्रतिस्पर्धी दलहरूसँगै स्वतन्त्र उम्मेदवारहरू पनि मैदान उत्रिएपछि कीर्तिपुरको चुनावी भिडन्त रोचक हुने देखिएको छ । यहाँ रास्वपाले भने उम्मेदवारी दिएको छैन । रास्वपाले कसलाई समर्थन गर्छ भन्ने विषयले पनि चुनावी नतिजामा असर पार्ने देखिन्छ । रास्वपाले कुनै एक स्वतन्त्र उम्मेदवारलाई सघाउन सक्ने चर्चा छ ।

अध्यक्ष रिक्त रहेका दुई वडामध्ये वडा नं १ मा नौ जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली कांग्रेसबाट इच्छा महर्जन, एमालेबाट हर्षमान महर्जन, माओवादी केन्द्रका सरलगोपाल महर्जन, राप्रपाबाट सुरेन्द्रप्रसाद उप्रेती, नेमकिपाका कृष्णप्रसाद महर्जन र जनमत पार्टीका विकास प्रधानको उम्मेदवारी परेको छ ।

वडाअध्यक्षका लागि विनोद महर्जन र अर्जुनकुमार महर्जनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । वडा नं ४ मा प्रमुख दलसहित १३ जनाको उम्मेदवारी परेको छ । जसमा कांग्रेसका राजेन्द्र बानियाँ, एमालेका बद्री बुढाथोकी, माओवादीबाट नारायण विष्ट, राप्रपाका विजेश बस्नेत, एकीकृत समाजवादीबाट रिता खड्का, जनमत पार्टीका श्रीकृष्ण महर्जन र नेमकिपाका महेश्वर सुवेदी छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा पबिता खड्का अधिकारी, कृष्णहरि खड्का, अभिलाष बुढाथोकी र मदनप्रसाद दाहाल छन् ।
यो उपनिर्वाचनमा धेरै स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।