दुर्गा प्रसाईं पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन, १० जना पक्राउ
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शन भएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बुधवार माइतीघरमा प्रदर्शन गरेको छ ।
साइबर अपराधसम्बन्धी कसुरमा म्याद लिनका लागी प्रहरीले आज प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ ।
महाअभियानमा आबद्ध १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले बताए ।
मङ्सिर ७ मा प्रसाईँ नेतृत्वको समूहले काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेको छ । भड्काऊ पूर्ण आन्दोलन गर्नसक्ने आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । आरोपीहरुविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रसाईँलाई सीआईबीले मंगलबार पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिने एसपी बोगटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: