बीपी राजमार्ग दैनिक ७ घण्टा बन्द हुने
काठमाडौं । गत असोजको बाढीका कारण बिग्रको बीपी राजमार्ग निर्माणको काम सुरु हुने भएको छ । सडक निर्माणका लागि दैनिक राति ७ घण्टा बाटो बन्द गरेर निर्माण कार्य सुरु हुन लागको हो ।
यो सँगै राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदै राति ७ घण्टा बन्द गरिने सूचना जारी गरेको छ । राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ । अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राती गाडी नचलाउन आग्रह गरिएको हो ।
यसैबीच गत असोज दोस्रो साता बाढीपहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रूपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा लगाइएको रोकसमेत कायमै छ । सुक्खा पहिरो जानसक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो ।
प्रतिक्रिया दिनुहोस्: