नेपाललाई ९ अर्ब अनुदान उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई ५० करोड चिनियाँ युआन (करिब ९ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले यस्तो घोषणा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति चिनफिङबीच बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेट भएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । चिनियाँ राष्ट्रपति सीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
तर, यो सहयोग रकम नेपाल र चीनबीच मंगलबार नै भएका आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोग सम्झौता अन्तर्गत नै हो वा फरक हो भन्ने चाहिँ स्पष्ट छैन ।
भेटका अवसरमा राष्ट्रपति सी ले नेपाली वस्तु चीनमा निर्यात गर्न प्रोत्साहन गर्ने आश्वासनसमेत दिएको ढकालले जानकारी दिए । ‘नेपाल र चीनबीचको सम्बन्ध सद्भाव, सम्मान र सहयोगमा आधारित छ । नेपालको विकास र समृद्धिमा चीनको सधैं साथ रहन्छ,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रका प्रवक्ता ढकालले बताए ।
राष्ट्रपति सीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएको प्रवक्ता ढकालले बताए ।
प्रधानमन्त्री ओलीले छोटो समयमा चीनले विकास र गरिबी निवारणमा हासिल गरेको प्रगति अनुकरणीय रहेको बताएका थिए । नेपालको विकासमा चीनको साझेदारीको अपेक्षा गरेको पनि प्रधानमन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्: